बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भदौ ३ गतेदेखि फेरि लकडाउन गर्ने भएको छ। कोरोनाको संक्रमण समुदायस्तरमा फैलिइसकेकाले त्यसको नियन्त्रणको लागि पूर्ण लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
जसअनुसार भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म कुनै पनि व्यापार व्यवसाय सञ्चालन हुने छैनन्।
मंगलबार सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उद्योग व्यापार संगठनका प्रतिनिधिहरूको समेत उपस्थितिमा बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसीं) को बैठकले एक हप्ता फेरि लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
यो अवधिमा दूधका डेरीरडिपोहरू समेत बिहान ६ बजेदेखि बिहान ८ बजेसम्ममात्र सञ्चालन गर्न पाइने छ। त्योबाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सवारी साधन तथा साइकल सञ्चालन समेत पूर्ण रूपमा बन्द गरिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।
यसअघि गरिएको लकडाउनको समयमा बिहान साँझ दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल सञ्चालन गरिएको भए पनि यसपटक भने कोरोना संक्रमण समुदायमै फैलिइसकेकाले सबै क्षेत्र ठप्प गरी लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया