दीपा महत, चार नम्बर ।
लकडाउनको समयमा पनि कपिलवस्तुमा सवारी दुर्घटना भयो ! गत चैत्र ११ गते देखि असार महिनासम्ममा २९ सवारी दुर्घटना भए, जसमा ६ जनाले ज्यान गुमाए । कोरोना नियन्त्रणका लागि भन्दै कपिलवस्तुमा ३ महिना कडा लकडाउन गरिएको थियो । सोही अवधीमा दुर्घटनामा परेर ६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले जनाएको छ ।
लकडाउनको अवधिमा मोटरसाइकल र ट्रक बढी दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यलयका प्रमुख टक्कर स्वाँरले जानकारी दिनुभयो । लकडाउनमा सडक खाली हुँदा तीव्र गतिमा सवारी हाक्ने र गाडीलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको उहाँको भनाई छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ को तुलनामा आव २०७६/७७ मा दुर्घटना कम भएका छन् । लकडाउनका कारण पनि दुर्घटनामा केही कमि आएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख स्वाँर बताउनुहुन्छ ।
आव ०७६/७७ मा १०९ सवारी दुर्घटना भएका छन भने सोही दुर्घटनामा परि ४७ जनाले ज्यान गुमाएको ट्राफिकको तथ्याङ्क छ । दुर्घटनामा १ सय १३ जना गम्भीर घाइते भएका छन् भने ३८ जना सामान्य घाइते भएका छन् ।
यस्तै आ.व. २०७५/७६ मा १५८ सवारी दुर्घटना भएका छन् भने सोही दुर्घटनामा परि ६९ जनाले ज्यान गुमाएका थिए । जसमा १ सय ५८ जना गम्भीर घाइते भएका थिए भने ६७ जना सामान्य घाइते भएका थिए ।
ट्राफिक प्रहरी प्रमुख स्वाँरका अनुसार तीव्र गतिमा सवारी चलाउनु, अब्यवस्थित तथा साघुँरा सडक, ओभरट्याक, मापसे सेवन लगायत दुर्घटनाका मुख्य कारण हुन् ।
जिल्लाको तीन स्थानीय तहका ६ ठाउँ दुर्घटनाको बढी जोखिमस्थान रहेका छन् । जसमा शिवराज नगरपालिकाको शिवपुर र बालापुर, बुद्धभूमिको इमिलिया र गोरुसिंगे जंगल, वाणगंगाको बुङ्ची र कोठी नदी रहेका छन् ।
यस्तै दक्षिणी भेगमा रहेको शुद्धोधन गाउँपालिकाको लवनी क्षेत्रमा पनि बढी दुर्घटना हुने गरेको छ ।
दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रम पनि जिल्लाभर सञ्चालन गर्दै आएको ट्राफिक कार्यालयको दाबी छ ।
प्रतिक्रिया