मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट झण्डै १ सय जनाको स्वाब संकलन गरिएको छ । आइतबार विहान सिद्धार्थ क्याम्पसबाट ९९ जनाको नुमना थ्रोट स्वाब संकलन गरिएको हो ।
पछिल्लो समय वाणगंगाको मधुवनकी एक महिलामा कोरोना देखिएपछि स्वाब संकलनमा तीव्रता दिन थालिएको छ । कोरोना भाइरसको शंका लागेका र सम्भावित जोखिमपूर्ण काममा लागेको विभिन्न क्षेत्रका व्यक्तिबाट स्वाब लिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।
आइतबारको किट कपिलवस्तु उद्योग वाणिज्य संघले खरिद गरेको हो । बजार क्षेत्रमा व्यापार, व्यवसायी गर्दै आएका व्यापारीको कोरोना परिक्षण गर्न भन्दै संघले किट खरिद गरेको थियो । वाणगंगा नगरपालिकाले उक्त किटबाट नमुना स्वाब संकलन गरेको हो ।
आइतबार संघका अध्यक्ष उमानाथ पौडेल लगायतका संघका पदाधिकारी, उद्योगी, व्यापारीको स्वाब लिइएको छ । यसै हप्ता वाणगंगाले बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जनप्रतिनिधि र कर्मचारीको स्वाब लिएको थियो । तर, सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
आइतबार संकलन गरिएको स्वाबलाई परिक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाउने तयारी भैरहेको नगरको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । केही दिनमै कोरोनाको रिपोर्ट आउने उहाँले बताउनुभयो ।
प्रतिक्रिया