१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुटवलः समुदायस्तरमा फैलियो कोरोना, थप १६ जनामा संक्रमण पुष्टि



बुटवल ।
बुटवल उपमहानगरमा शनिबार राति १२ बजेपछि मात्र १६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको पीसीआर रिपोर्टमा १६ जना संक्रमित थपिएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य बिभाग प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए ।

पछिल्लो रिपोर्टसँगै उपमहागरमा कुन संक्रमितको संख्या ८० पुगेको छ । आईबार पुष्टि भएका थप संक्रमितमा ३ जना उपमहानगरका अधिकृतहरु भएको सिंहले बताए ।

शनिबार मात्र बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा पनि संक्रमण देखिएको थियो । संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आईतबार ३ जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो ।

उपमहानगरको एउटै वडामा १८ जना सम्म संक्रमित पुगेका छन् । बुटवल उपमहागरको ११ नम्बर वार्डमा आईतबार बिहान सम्म १८ जनालाई संक्रमण पुष्टि भईसकेको छ । बुटवलमा संक्रमण पुष्टि भएको २ देखि ३ दिनसम्म स्थानीयतहले त्यस्ता संक्रमितहरुलाई सम्पर्क नै नगरेका कारण संक्रमण बढेको आंकलन गरिएको छ ।

आइतबारसम्ममा उपमहानगरभित्र सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ । तीमध्ये ४० जना मात्रै उपचाररत छन् ।

ट्राभल हिस्ट्री नदेखिएका संक्रमित सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाको वडा नं ११ मा छन् । वडा नं ११ जनामा १८ जना संक्रमित छन् ।

बुटवलका १ देखि १५ नम्बर वडासम्म समुदायस्तरमै संक्रमण फैलिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख सिंहले जानकारी दिए ।

आइतबार पुष्टि भएका संक्रमितको वडा खुलिनसकेको उनले बताए । शनिबार सम्म वडा नं १० मा ८ जना, १३ मा ४ जना, १२ मा २ जना संक्रमित छन् । यस्तैगरी वडा नं १ देखि ७, ९ र १६ मा एक÷एक जना संक्रमित छन् ।

उपमहानगरपालिकाले साउन २९ देखि भदौ ५ गतेसम्म लकडाउनको घोषणा गर्दै कन्ट्याक्ट ट्रेसिङ र समुदायस्तरमा पीसीआर परीक्षण गर्दै आएको छ ।

आम सञ्चारमा बुटवलको कोरोना संक्रमणको सुचना प्रभावकारी रुपमा नआएपनि बुटवल उपमहानगरलाई कोरोना संक्रमणले घेराबन्दी गरिसकेको अवस्था देखिएको हो ।

उपमहानगरमा व्यवसायी, कर्मचारी, स्वास्थ्यकर्मी तथा ट्राभल हिस्ट्रि नै नभएका सर्वसाधारणमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  ९ : ३७ बजे