१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अमेरिकी राष्ट्रपति ट्रम्पका भाईको निधन



एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । ७१ वर्षीय रोबर्टको न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको ट्रम्पले जानकारी दिएका छन् ।

‘आज राति मेरा भाइ रोबर्ट बितेको खबर भारी मनले सार्वजनिक गर्दैछु। उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी थिए । हामी उनलाई धेरै सम्झनेछौं, हामी फेरि भेट्ने छौं । उनको सम्झना मेरो मनमा सधैँ रहिरहनेछ । रोबर्ट, म तिमीलाई माया गर्छु । तिम्रो आत्माले शान्ति पाओस्,’ राष्ट्रपति ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो । केही समय उपचार गरेपछि उनलाई निको भएको थियो ।

रोबर्ट ७४ वर्षीय दाजु डोनाल्डका एकदमै नजिक थिए । पछिल्लो समय उनले ट्रम्प परिवारबारे भतिजी म्यारीले प्रकाशन गर्न लागेको किताब रोक्नुपर्ने भन्दै मुद्दा हालेका थिए ।

राष्ट्रपति ट्रम्पले शुक्रबार अस्पतालमा गएर रोबर्टलाई भेटेका थिए । ट्रम्पका तीन दाजुभाइमध्ये जेठा दाजुको ४३ वर्षको उमेरमा सन् १९८१ मा मृत्यु भएको थियो । अत्याधिक मदिरा सेवन गर्ने दाजुको अल्पायूमै मृत्यु भएपछि त्यसले ट्रम्पको जीवनमा गम्भीर प्रभाव पारेको थियो ।

रक्सीका कारण दाजुको ज्यान गएको देखेपछि आफूले कहिल्यै रक्सी नखाएको ट्रम्पले बताउँछन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  ९ : २३ बजे