१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तौलिहवा क्षेत्रमा २ सय २९ जनाको स्वाब संकलन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु सदरमुकाम तौलिहवामा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि संक्रमितको सम्पर्कमा आएका घर परिवार तथा आफन्तजनको कोरोना परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको छ ।

शुक्रबार तौलिहवास्थित बुद्ध पद्म माविमा २ सय २९ जनाको स्वाब संकलन गरिएको कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । संकलन गरिएको नमूना स्वाब बुटवलस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

नमूना स्वाब दिन बुधबार कोरोनाका कारण मृत्यु भएका व्यवसायी कृष्णकुमार अग्रहरीको परिवार तथा आफन्तजन र कोरोना संक्रमित भइ हाल उपचारमा रहेका अन्य व्यक्तिका परिवार तथा आफन्तजन आएका थिए । दिनहुँजसो कपिलवस्तु जिल्लामा संक्रमितको संख्या थपिँदै गएको छ ।

जिल्ला सदरमुकाम तौलिहवाको विभिन्न क्लष्टरमा कोरोना संक्रमण देखिएको र कोरोना संक्रमण फैलन नदिन क्लष्टर अनुसार नै कोरोना परीक्षणको काम अघि बढाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकस पर्सन कुमार थापाले बताए ।

कोरोना संक्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भइसकेको छ । ३ जना गम्भीर अवस्थामा विभिन्न अस्पतालमा उपचार गराइ रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  ७ : ३९ बजे