१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भाइरोलोजिष्ट डा. लुना भट्ट भन्नुहुन्छः ‘फलफूल, तरकारी र दूधबाट कोरोना सर्दैन’



काठमाण्डौँ ।
भाइरोलोजिष्ट डा लुना भट्टले फलफूल र तरकारीमा कोरोना भाइरसको संक्रमण नहुने बताउनु भएको छ । लामो समयसम्म यस्तै रोगको अनुसन्धानमा रहनु भएकी डाक्टर भट्टले फलफूल, तरकारी र दूधबाट कोरोना भाइरसको संक्रमण सर्ने खतरा निकै कम हुने बताउनु भएको हो । काठमाण्डौँमा संचारकर्मीसंग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘फलफूल, तरकारीमा भाइरस रहिरहन सक्दैन।

घर ल्याएको सामान पखालेर प्रयोग गर्न सकिन्छ। सकेसम्म पकाएर खाने बानी बसाल्नुपर्छ। नपकाइकन खाने सलाद र फलफूललाई सफा पानीले पखालेर खाँदा फरक पर्दैन। खानेकुरालाई ७० डिग्री सेन्टिग्रेटमा ५ मिनेटसम्म पकायो भने भाइरस मर्छ। पकाएर खाएको खानामा भाइरस हुँदैन।’ तर पसलमा सामान किन्दा मास्क लगाउने र निश्चित दूरी कायम गरेर किन्नुपर्नेमा डाक्टर भट्टले जोड दिनु भयो ।

उहाँले कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा भएकाले यसको पालना अनिवार्य भएको उहाँको भनाई छ । सकेसम्म बाहिरको प्लाष्टिकलाई घरभित्र प्रयोग नगर्न अनुरोध गर्दै दूधमा पिउन डराउन नपर्ने उहाँले बताउनु भयो । दूध उमालेरमात्रै खाने भएकाले पनि डराउनु नपर्ने डाक्टर भट्टको भनाई छ ।

उहाँले कार्यालयमा धेरै भीड नगर्न, एक अर्कासँग गफ नगर्न, कार्यालयमा बाहिरका मान्छेलाई पनि जथाभाबी आउन दिन नहुने, सकेसम्म पैदल हिँड्न पनि अनुरोध गर्नुभयो । उहाँले खुल्ला हावाबाट यो रोग नसर्ने बताउनु भएको छ । अहिले कोरोनाबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्ने भन्ने भनाई रहे पनि रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउन नसक्ने उहाँको भनाई छ ।

नेपालीको रोग प्रतिरोधी क्षमता बढी छ त्यसले हामीलाई बचाउँछ भन्ने भ्रम पनि अब तोडिइसकेको छ। कतिपय रोगमा यो क्षमता हुनु राम्रो हो तर यो भाइरसको हकमा यस्तो पाइएको छैन। यो भाइरसको कारणले रोग प्रतिरोधी क्षमता परिवर्तित भएर, धेरै सक्रिय भएर बिरामीलाई असर गरेको पनि देखिएको छ। यो भाइरसको कारणले रोग प्रतिरोधी क्षमताले असामान्य काम गर्ने खतरा हुन्छ।

जसले गर्दा हृदयघात, किड्नीलगायत अन्य अंग फेल हुने मस्तिष्कमा समस्या पर्ने, रगत जम्ने र अकस्मात मृत्यु हुनेलगायत खतरा पनि देखिएका छन्, उहाँले भन्नुभयो । दाल भात र हावाले यो रोगलाई ठिक पार्छ भन्नुमा सत्यता छैन। किनकी भएको सामान्य रोग प्रतिरोधी क्षमताले यसमा काम गर्न सक्दैन। भाइरसले रोग प्रतिरोध प्रणालीमा असामान्य अवस्था उत्पन्न गराएर थप असर देखिएको छ। तातोपानी, बेसार खाएर केही अर्थ छैन।

यसले अन्य खालका रूघा, घाँटी खसखस गर्नेजस्ता समस्यालाई ठिक पार्छ होला तर कोरोनाभाइरसको संक्रमण निको हुँदैन। यसको सबैभन्दा ठूलो उपचार भनेकै आफू सुरक्षित रहने हो। हाल उपलब्ध एन्टिभाइरल औषधी र इम्युनोमोडुलेटर प्रयोग गरी उपचार गर्नुपर्छ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  ३ : ३५ बजे