१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एकै व्यक्तिमा दोश्रोपटक कोरोना हुँदैन भन्ने भ्रम मात्रै, कपिलवस्तुकी एक नर्समा पुनः संक्रमण



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
चीनबाट फैलिएको कोभिड-१९ अर्थात् कोरोना भाइरसको संक्रमणबारे अहिलेसम्म पनि थुप्रै भ्रमहरु रहेका छन् । विश्वमा लाखौँ मानिसले यस रोगका कारण अकालमै मृत्युवरण खेपिरहेकोे अवस्थामा अझैसम्म पनि यसको उपचार र निदानबारे कोही कसैले केही उपाय अपनाउन सकेको छैन ।

शक्ति सम्पन्न राष्ट्रका वैज्ञानिक र डाक्टरहरु यस रोगको औषधी र खोप पत्ता लगाउने होडबाजीमा छन् । तर, आधा बर्ष हुन आँट्यो अमेरिका, चीन, बेलायत, क्यानाडा, जापान, रुस, अष्ट्रेलिया आदि राष्ट्रका वैज्ञानिकहरुले पनि केही उपाय खोजि गर्न सकिरहेका छैनन् र कोरोना रोग उनीहरुको टाउको दुखाई बनेको छ ।

कोरोना कसरी सर्छ ? यसबाट बच्न के गर्नु पर्दछ ? लगायतका विषयमा अड्कलबाजीमै संसारभर बिभिन्न अभ्यासहरु भइरहेका छन् । कोरोना तीव्र गतिमा सर्ने रोग हो भन्नेबारेमा विश्वका कुनै मानिसमा पनि दुई मत छैन । तर यस बारेमा रहेका भ्रमहरु भने कसैले चिर्न सकिरहेको छैन । कोभिड जतिजति फैलिरहेको छ त्यतित्यति नयाँ कुराहरु आइरहेका छन् ।

कोरोना भाइरस बारेका बिभिन्न भ्रमहरुमध्ये एक भ्रम थियो एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा पुनः कोरोना देखिन्न । तर यो कुरा गलत सावित भएको छ । कपिलवस्तुको एक घटनाले कोरोना संक्रमण एकपटक भएपछि फेरिफेरि पनि हुँदो रहेछ भन्ने कुराको पुष्टि गरेको छ ।

जिल्ला अस्पताल तौलिहवाकी एक नर्सलाई करिब ३ महिना अघि कोरोना संक्रमण पुष्टि भयो । उहाँले १० दिन होम क्वारेनटाइनमै बसेर विना औषधी कोरोनालाई जित्नु भयो पनि । तर कोरोना निको भएको २ महिना २५ दिनपछि फेरि ती नर्सलाई फेरि कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय कपिलवस्तुमा समुदाय स्तरमा कोरोना फैलिएको छ । यसैक्रममा जिल्ला अस्पताल कपिलवस्तुमा केही दिनअघि एकैपटक १८ जनालाई कोरोना पुष्टि भएको थियो । तिनै १८ जनामध्ये नर्सलाई कोरोना भएको जिल्ला अस्पतालले जनाएको छ । ती नर्समा जेठ २ गते पहिलोपटक कोरोना संक्रमण भएको थियो । उनले जेठ १२ गते कोरोना जितेर घर फर्केकी थिइन् ।

उनलाई कोरोना संक्रमण भयो यो भने केही थाहा छैन । पहिलो पटक संक्रमण हुने बेला उहाँका कुनै लक्षण पनि देखिएको थिएन भने अहिले पनि कुनै लक्षण देखा नपरेको र उहाँ सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ । ती नर्सलाई फेरि कोरोना देखिएपछि पहिला संक्रमण भएर निको भएकाहरु पनि थप त्रसित भएका छन् ।

कोरोना संक्रमण फैलिएर मुक्त भएका देशहरुमा फेरि कोरोना फैलियो भन्ने कुरा त आएको थियो नै एक पटक कोरोना लागेको व्यक्तिलाई फेरि कोरोना संक्रमण देखियो भन्ने कुरा खासै सुनिएको छैन । केही त्यस्ता केस होलान् । हामीले थाहा नपाएका हुन सक्छौँ तर कोरोना संक्रमित नर्समा पुनः कोरोना देखिनु कपिलवस्तुमा मात्र नभएर सम्भवतहः नेपालमै नयाँ केस हुन सक्छ ।

अहिले जिल्लामा समुदायस्तरका चिकित्सक, वित्तिय संस्थाका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी, जनप्रतिनिधि, पान पसले, किराना पसले कसैलाई पनि कोरोनाले छोडेको छैन । चिकित्सकहरु पनि यस्तो घटना नौलो भएको बताउँछन् । यस केसपछि एकपटक संक्रमित भएर फेरि लाग्दैन भनेर ढुक्क भइहाल्ने अवस्था अवस्था नभएको चिकित्सकहरुको भनाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  १० : ३६ बजे