काठमाडौं ।
कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए।
मृतकहरु मध्ये चारजना विष्ट परिवारका सदस्य र दुई जना छिमेकी रहेको प्रहरीले जनाएको छ ।
कालिकोट लगायतका क्षेत्रमा रातभर पानी परेको थियो।
सिन्धुपाल्चोकमा पहिरो, २१ जना पुरिए
सिन्धुपाल्चोकको जुगलका–२ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना पुरिए भन्ने आएको छ तर घटनास्थल नपुगि भन्न सकिने अवस्था छैन्।’ उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताए।
अहिलेसम्म घटनास्थलमा सेना र प्रहरी पुगेको छैन। स्थानीयले उद्धारको प्रयास गरिरहेका छन्। स्थानीयका अनुसार पाँच जनाको उद्धार गरिएको छ। वडाअध्यक्ष लामाले सेना र जनपद प्रहरी घटनास्थलतर्फ हिँड्दै गइरहेको जानकारी दिए। लिदीमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए।
प्रतिक्रिया