मायादेवी अनलाइन, तौलिहवा ।
ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात गरी अस्पतालसमेत तोडफोड गर्ने उपर कारवाहीको माग गर्दै जिल्ला सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारी आन्दोलित बनेका छन् ।
आन्दोलित डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बिहीबारबाट अति आवश्यक सेवा बाहेक कुनै पनि सेवा प्रवाह नगर्ने सामुहिक घोषणा गरेका छन् ।
गत शनिबार साँझ कपिलवस्तु अस्पतालमा तातो चियाबाट जलेर घाईते अवस्थामा आएकी एक बालिकाको उपचारका क्रममा उपचारमा संलग्न मेडिकल अधिकृतमाथि भएको हातपात र अस्पताल तोडफोडको विषयमा स्थानीय प्रशासनले कुनै कारवाही प्रक्रिया अघि नबढाएको भन्दै डाक्टर तथा अस्पताल कर्मचारीहरु आन्दोलत भएका हुन् ।
विहीबार दिउँसो अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, मेडिकल अधिकृतदेखि सबै कर्मचारीहरुले सामुहिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विहीबार दिउँसैबाट अस्पतालबाट प्रवाह गरिने सेवाहरु अनिश्चितकालीन रुपमा बन्द गरेको घोषणा गरेका छन् । आफ्ना माग सनुवाई नभए अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुले सामुहिक रुपमा राजीनामा दिने समेत उनीहरुले घोषणा गरेका छन् ।
शनिवार साँझ कपिलवस्तु नगरपालिका वडा नंं. ८ की १ बर्षीया बालिका सोफिया खानको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक बालिकालाई तातो चियाले पोलेर घाइते अवस्थामा उपचारका लागि कपिलवस्तु अस्पताल ल्याइएको थियो । उपचारका क्रममा अस्पतालका स्वास्थ्यकर्मीको लापरवाही भएको भन्दै आक्रोशित मृतक बालिकाका आफन्तले डाक्टरमाथि हातपात गर्नुका साथै अस्पतालको इमर्जेन्सी वार्डमा तोडफोड गरेका थिए ।
डाक्टर कुटिँदा र अस्पताल तोडफोड हुँदा समेत स्थानीय प्रशासनले आफुहरुको समस्याबारे चासो नराखेका कारण बाध्य भई आफुहरु आन्दोलनमा उत्रिनु परेका आन्दोलित डा. गणेश क्षेत्रीले बताए ।
प्रतिक्रिया