९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तुमा कोरोनाले पहिलो ज्यान लियो, संक्रमितको संख्याले ९ सय नाघ्यो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका दुई जनाको कोरोना विशेष अस्पताल बुटवलमा ज्यान गएको छ । उहाँहरुको सोमवार राति मृत्यु भएपनि बुधबार विहान मात्र खबर बाहिरिएको थियो । मृतक मध्ये एकजनाको कोरोनाका कारण मृत्यु भएको छ भने अर्का एक जनाको अर्कै रोगको कारण ज्यान गएको पुष्टि भएको छ ।

बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहवाका एक र कृष्णनगरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लक्षणसहितका बिरामी दुबै जनाले बिगत ५ दिन देखि बुटवलस्थित कोरोना बिशेष अस्पतालमा उपचार गराईरहनु भएको थियो । मृत्यु हुनेमा ४२ बर्षीय कपिलवस्तु नगरपालिका–२ जमुहरा टोलका राजु भन्ने कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका– १० का २५ बर्षीय प्रदीप तेली रहेको श्रोतले जनाएको छ ।

यसैबीच बुटवलस्थित कोरोना विशेष अस्पतालमा ज्यान गुमाएका कृष्णनगरका २५ बर्षीय युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार राति सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार कृष्णनगर नगरपालिका वडा नं. १२ का २५ बर्षीय युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार विहान स्वास्थ्य कार्यालयले कोरोना अस्पतालमा ज्यान गुमाएका कृष्णनगरका यी युवाको कोरोनाकै कारण ज्यान गएको बताए पनि रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार सदरमुकाम तौलिहवाका ४२ बर्षीय कृष्ण कुमार गुप्ताको कोरोनाका कारण निधन भएको थियो ।

कृष्णनगरका युवा प्रदीप तेलीको भने अन्य विरामीका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले दाबी गरेको छ ।

यता तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्था पनि गम्भीर रहेको छ । मस्जिद टोलका मासु व्यापारी र सागरटोलका एक पुरुष काठमाडौंमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यता कपिलवस्तुमा बुधबार साँझ थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

गत साउन २६ गते कपिलवस्तु अस्पतालबाट लिइएको ९१ नमुना मध्ये १८ जनामा कोरोना देखिएको हो । ६० जनामा कोरोना देखिएन भने १३ जनाको रिपोर्ट आउन बाँकी छ । बुधबार १८ जना संक्रमित थपिएसंगै जिल्लामा कूल संक्रमितको संख्या ९ सय १ पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७ बिहिबार ००:००  ६ : ०४ बजे