मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोनाको संक्रमणका कारण २ जनाको मृत्यु भएसंगै उच्च सुरक्षा अपनाइएको छ । कोरोनाका कारण बुधबार मात्र कृष्णनगर र कपिलवस्तु नगरपालिकामा २ जनाको मृत्यु भए पछि थप जोखिम हुन नदिन प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल र जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीसहितको टोली नै परिचालित भएको छ । सो उच्च स्तरको अनुगमन टोलीले लक डाउन उलङ्घन गर्नेमाथि बिभिन्न कारबाही गरेको छ ।
आवश्यक काम बाहेक बाहिर पैदल निस्किएका सर्वसाधारणलाई सम्झाई बुझाई गरी फेरि गल्ती नगर्ने सर्तमा छोडिएको छ भने जथाभावी मोटरसाइकल, स्कुटर र साना गाडी चलाउनेको चाबी नै थुत्ने, जरिवाना तिराउने लगायतका कारबाही भइरहेको छ ।
एसपी नवराज अधिकारीका अनुसार कतिपयले ठाडै लकडाउन उलङ्घन गरेको पाइएकालाई भाटे कारबाही पनि गरिएको बताउनु भयो । यस्तो भाटे कारबाही खानेहरु डेढ दुई सयको संख्यामा रहेको अधिकारीले मायादेवी अनलाइनलाई बताउनुभयो ।
उहाँहरुले बुधबार दिनभर जिल्लाका तौलिहवा, बाणगंगा, बहादुरगंज, शिवराज, बुद्धभूमि, कृष्णनगर लगायतका स्थानका मुख्य चोक र सडकहरुमा अवलोकन गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले जानीजानी कतिपय सर्वसाधारणले लकडाउन उलङ्घन गरेको पाइएको बताउनु भयो ।
जानीजानी लकडाउन उलङ्घन गरी कोरोना सार्ने नियतमा लाग्नेहरुलाई कानुन अनुसार कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ‘पौडेलले मायादेवी अनलाइनसंग भन्नुभयो,–‘कोरोना नियन्त्रण सिडिओ र एसपीले गर्ने होइन, स्वयम् सर्वसाधारण सतर्क रहनु पर्दछ । यस रोगबाट बच्ने एक मात्र उपाय घरबाहिर ननिस्कनु रहेको भन्दै उहाँले इमान्दार भएर राज्यले भनेका कुरा र नियमहरु पालना गर्न जिल्लबासीलाई आग्रह गर्नुभयो ।’
छड्के जाँचको क्रममा बुधबार मात्रै झण्डै सात सयलाई कारबाही गरिएको एसपी अधिकारीको भनाई छ । उहाँले जिल्लाभरको प्रहरी इकाइलाई कडा निर्देशन दिइएको भन्दै लापरबाही गर्नेमाथि अब लाठीचार्ज गरिने बताउनु भयो । ‘सकेसम्म लाठीचार्ज गर्ने स्थिति नआओस् । प्रहरी यस्तो निर्ममता चाहँदैन । तर प्रहरीमाथि नै चुनौती हुने गरी कोही कसैबाट लक डाउन उलङ्घन गर्ने लगायतका गतिविधि भए प्रहरीले छोड्दैन । लाठीचार्ज त सामान्य हो’ उहाँले भन्नुभयो । अधिकारीले गत २७ गतेको वैठकको निर्णय अनुसार गतिविधि गर्न जिल्लाबासीलाई अनुरोध गर्नु भयो ।
बाणगंगा नगरपालिकामा पनि बुधबार थुप्रै मोटरसाइकलका चावी थुतिएका छन् भने कतिपयलाई लाठीचार्ज गरिएको छ । हिजोअस्ति सडकमा सवारी गुडे पनि आज भने ठप्प नै भएका छन् । कडाई गरिएपछि अन्य पालिकामा पनि आवतजावत र भीँडभाड रोकिएको हाम्रा संवाददाताहरुले बताएका छन् ।
साउन २७ गते बसेको जिल्लाको उच्च सुरक्षा संयन्त्रको वैठकले ३२ गतेसम्म जिल्लामा पूर्ण लक डाउन गरेको छ । अन्य पसल, ब्यवसाय बन्द नै गरिएको छ, अत्यावश्यक सेवा र कामका लागि पनि विहान ८ बजेदेखि १० बजेसम्म २ घण्टा समय निर्धारण गरिएको छ ।
यो समयभित्र किनमेल गर्न अनुरोध गर्दै प्रशासनले अनिवार्य मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न पनि भनेको छ । जिल्लामा कोरोना समुदायस्तरमा फैलिएकाले स्थिति हेरेर यो भन्दा पनि कडा निर्णय लिन सकिने प्रमुख जिल्ला अधिकारी पौडेलले मायादेवी अनलाइनलाई बताउनु भयो । जिल्लामा बुधबार साँझसम्म ९ सय १ पुगेका छन् ।
प्रतिक्रिया