नेपालगञ्ज ।
बाँकेमा चिकित्सक र प्रहरीसहित १५ जनालाई कोरोना पुष्टि भएको छ । पाँचजना भने अरु जिल्लाका छन्।
नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत दुईजना चिकित्सक र वडा प्रहरी कार्यालय, नेपालगञ्जमा कार्यरत तीनजना प्रहरीसहित बाँकेमा १५ जना कोरोना संक्रमित थपिएका हुन् ।
भेरी अस्पताल, नेपालगञ्जले सोमबार दिउँसो सार्वजनिक गरेको विवरणमा १५ जना बाँके, दुई कैलाली, बर्दिया, सल्यान र दाङका एक–एक जना रहेका छन् ।
पछिल्लो पटकवडा प्रहरी कार्यालयबाट लिइएको स्वावमा चारजना संक्रमित हुँदा तीन जना प्रहरीको वडा प्रहरी इन्चार्ज हरि बस्नेतले बताए । हिजो वडा प्रहरी कार्यालयका इन्चार्ज बस्नेतसहित २९ जनालाई कोरोना भएको थियो ।
नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । कोरोना संक्रमित भएका कतिपय भने पोजिटिभ रिपोर्ट आएपछि सम्पर्कबिहीन हुन थालेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले १२ जना कोरोना संक्रमित सम्पर्कबिहीन भएको जानकारी दिए । उनका अनुसार, स्वास्थ्यकर्मी र प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।
प्रतिक्रिया