मायादेवी अनलाइन, चार नम्बर ।
गत बर्षहरुमा साउन महिनाको सोमबार दर्शनार्थीको बाक्लै घुइँचो लाग्ने लक्ष्मणघाट, रामघाट जस्ता चर्चित तीर्थस्थल यो बर्ष सुनसान रहेका छन् । कपिलवस्तुमा अवस्थित यी तीर्थस्थल पश्चिम नेपालमा चर्चित छन् । हरेक बर्षको साउन महिनामा पर्ने सोमबारका दिन हजारौं दर्शनार्थीले यी तीर्थस्थलको अवलोकन गर्दै पूजाआजा गर्ने गर्दथे । तर, यो बर्ष कोरोना भाइरसको महामारीका कारण यी तीर्थस्थल सुनसान देखिन्छन् । भागीरथी नदी (वाणगंगा नदी)को किनारा रहेका रामघाट र लक्ष्मणघाटमा चिरीबिर–चिरबिर चराको स्वर र भागीरथी नदीको स्वस्साहट बाहेक अरु सुन्न सकिन्न । यहाँ अहिले मन्दिरमा रहेका घण्टी समेत चुप छन् भने भगवान शिव मौन रहेको आभाष हुने गर्छ ।
विशेष गरी साउनको सोमबारलाई भगवान शिवको महिनाको रुपमा पनि लिने गरिन्छ । यस वर्षको साउनमा चार वटा सोमबार परेको छ । आज साउनको अन्तिम सोमबार हो । तर, यो बर्ष सुनसानै रहे हरेक सोमबार ।
साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ । यो बर्ष घरघरमा ब्रत बस्नुबाहेक मन्दिर कोही धाएन । साउन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । साउन सुरु भए लगतै महिलाहरु रङ्गिन थाल्दछन ।
हरियो पोते, पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ । साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । यो महिनाभर महिलाहरु शुद्ध साकारहारी खाना खाने तथा सोमवार ब्रत बस्ने गर्दछन । आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको महिलाहरु बताउँछन ।
साउन महिना भरी माछा मासु नखाई एक छाक खाना खाने र सोमबार मन्दिर गएर पूजा गरी मनाउने गरेको उनीहरु बताउँछन । तर, सोमबार यो बर्ष घरघरमा बसेर पूजाआजा गरेको महिलाहरुको भनाई छ ।
हरियो पहेंलो र रातोपोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।
अचेल साउन महिनामा हरियो रातो पहेलो समिश्रण गरी लगाउने चलन स्थापित हुँदै आएको छ ।
प्रतिक्रिया