९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लामो पत्र लेख्दै विलियनले गरे चेल्सी छाड्ने घोषणा



एजेन्सी ।

ब्राजिली स्टार विलियनले बिदाई पत्र लेख्दै चेल्सी छाड्ने निर्णय लिएका छन् । लण्डनमा झण्डै ७ बर्ष बिताएका विलियनले स्टामफोर्ड ब्रिज क्लब चेल्सी छाड्ने पक्का गरेका हुन् ।

३२ बर्षका फरवार्डको चेल्सीसंगको सम्झौता सकिएको थियो । क्लबले उनलाई दुई बर्षको सम्झौता नविकरणको प्रस्ताव अघि सारेको थियो । तर उनले लण्डन क्लबसंग तीन बर्षको सम्झौता माग गरेका थिए ।

विलियन पछिल्लो समय अर्को लण्डन क्लब आर्सनलसंग जोडिएका छन् । उनी १ लाख पाउण्ड साप्ताहिक तलब पाउने शर्तमा आर्सनलमा जाने बताईएको छ ।

विलियनले क्लब र समर्थकलाई लामो पत्र लेख्दै अर्को सिजन चेल्सीबाट नखेल्ने बताएका हुन् । उनले ईन्स्टाग्राममा मार्फत क्लब तथा खेलाडीलाई बिदाई पत्र लेखेका छन् ।

उनले आफ्नो ७ बर्षको करियरमा सहयोग गर्ने चेल्सी समर्थकलाई धन्यवाद दिएका छन् । उनले आफु अघि बढ्ने समय आएको भन्दै टिमका सहकर्मीसंग बिदा मागेका छन् ।

चेल्सीले पछिल्लो समय उनलाई दुई बर्षको सम्झौता लिन वा क्लब छाड्न अनुरोध गरेको थियो । आर्सनलले साप्ताहिक १ लाख डलर तलबमा विलियनलाई तीन बर्षको अनुबन्धनको प्रस्ताव अघि सारेको छ । उसले चार बर्षको विकल्पमा समेत खुल्ला रहने गरि तीन बर्षको प्रस्ताव अघि सारेको हो ।

चेल्सी प्रशिक्षक फ्राङ्क लाम्पार्डले विलियनले चेल्सी छाडेमा आफु दुखी हुने बताएका थिए ।विलियन सन् २०१३ मा शख्तर डोनेस्कबाट लण्डन क्लबमा ३० मिलियन पाउण्डमा आएका थिए । चेल्सीमा ७ बर्ष बिताउँदै उनले ६३ गोल गरे भने ६२ गोलको अवसर सिर्जना गरे ।

उनले सबै प्रतियोगितामा ३ सय ३९ खेलमा सहभागीता जनाए । उनले क्लबबाट एफ ए कप, ईपीएल कप र युरोपा लिग सहित दुई पटक प्रिमियर लिगको उपाधि जिते ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ७ : ०३ बजे