९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लक्षण नदेखाउने संक्रमितहरुले पनि उत्तिकै भाइरस बोकेका हुन्छन्



बीबीसी ।
लक्षण नदेखाउने कोभिड–१९ का बिरामीले पनि अन्य संक्रमित जत्तिकै मात्रामा भाइरस बोकेको हुने एक दक्षिण कोरियाली अनुसन्धानको रिपोर्टले देखाएको छ । गत मार्चको सुरुवातमा कोरियाले देशव्यापी रुपमा तिव्र परीक्षण गराउँदा थुप्रै लक्षण बिनाका संक्रमितहरुको पहिचान गरि तिनलाई आइसोलेट गरि राखेको थियो ।

तिनै बिरामीहरुमा गरिएको रिसर्च लगायत अन्य थुप्रै प्रमाणहरुको अध्ययनपछि नै लक्षण नदेखाए पनि व्यक्तिले अधिक मात्रामा भाइरस फैलाउन सक्ने पत्ता लागेको हो । त्यस्ता बिरामीहरुले अन्य साधारण संक्रमित बराबर कोरोना भाइरस बोक्ने गरेको भएपनि कत्तिको संक्रमण फैलाउन सक्छन् भन्ने चाहिँ अझै स्पष्ट भन्न नसकिने बताइएको छ ।

यसमा अनुसन्धानकर्ताहरुले कुनै लक्षण नभएपनि परक्षिणका क्रममा कोरोना पोजेटिभ देखिएकाहरुलाई सामुदायिक उपचार केन्द्रमा रहँदा गम्भीरतापूर्वक अध्ययन गरेका हुन् । जसपछि लक्षण नदेखाएपनि ती संक्रमितहरुको नाक अनि घाँटीबाट स्वाब संकलन गर्दा अधिक मात्रामा कोरोना भाइरस फेला पारिएको हो । उनीहरुको नियमित परीक्षण गराइ, नतिजा नेगेटिभ आएपछि मात्र तिनलाई बाहिर जान दिइएको हो ।

यसरी १,८८६ बिना लक्षणका बिरामीहरुको रिपोर्ट हेर्दा उनीहरुमा अन्य सामान्य बिरामी जत्तिकै भाइरसको उपस्थिति रहने गरेको स्पष्ट भएको छ । यसमा लक्षण नदेखाउने बिरामीहरुको परीक्षण नतिजा १७ दिनपछि मात्र नेगेटिभ आएको हो भने लक्षण देखाउने बिरामीको चाहिँ १९५ दिनमा परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

हाल अमेरिका, बेलायत लगायतका देशमा कोरोना परीक्षण सम्बन्धी जति पनि अध्ययन अभनुसन्धान भएका छन् प्रायः सबै लक्षण भएका बिरामीमै मात्र केन्द्रित भएकाले पनि बिना लक्षणका कोभिड संक्रमितबारे अत्यन्तै थोरै डाटा उपलब्ध छ । त्यसैले पनि यो नयाँ रिसर्चले यस विषयमा थप जानकारी प्राप्त गर्ने अवसर दिलाएको बताइएको छ ।

तरपनि लक्षण बिनाका कोभिड बिरामीलाई खोकी, रुघा नलाग्ने हुँदा थुकका छिटाबाट अर्को व्यक्तिमा भाइरस सर्ने सम्भावना कम हुन्छ । तर यसको अर्थ उनीहरुले आफ्नो वरिपरि भाइरस फैलाएका छैनन् भन्ने चाहिँ नभएको डाक्टर साइमन क्लार्क बताउँछन् । यसमा संक्रमित व्यक्तिले कति गहिरो र कति छिटो सास फेरिरहेको छ अनि अर्को स्वस्थ व्यक्तिबाट कति दुरीमा छ भन्नेले संक्रमण सम्बन्धी धेरै कुरा निर्धारित गर्ने उनले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ६ : ०९ बजे