चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कुनै समय कपिलवस्तु नेपालमै कोरोनाको ‘हस्टपट’ बनेको जिल्ला हो । कोरोनाको संक्रमण ह्वात्तै बढेर प्रदेशमै पहिलो र देशमै चर्चामा रहेको जिल्ला एकाएक पछिल्लो समय शुन्य स्थितिसम्म झरेको थियो । वैशाख २५ गते दक्षिणी सीमावर्ती मायादेवी गाउँपालिकाबाट कोरोना देखिन सुरु गरेकोमा असारसम्म आइपुग्दा यहाँ ७ सय ५० बढीमा कोरोना संक्रमण देखिएको थियो । यतिका धेरै संख्यासम्म कोरोना देखिएपनि समुदायस्तरमा भने फाट्टफुट्ट मात्र देखिएको थियो ।
यी सबै कोरोना संक्रमित अधिकांश भारतबाट आएका थिए । यद्यपि असार दोस्रो हप्ताबाट तेश्रो मुलुक हुँदै जिल्ला भित्रनेको संख्या बढ्न थालेको थियो । यस्तो अवस्थामा सीमावर्ती स्थानीय पालिकाहरुले वर्डरबाट सिधै तत् व्यक्तिहरुलाई आ–आफ्ना पालिकामा लैजाने काम गरे भने, कतिपय आफै क्वारेनटाइनको ढोका ढकढकाउनसम्म पुगे । त्यसले गर्दा समुदायमा कोरोनाको संक्रमण फैलिन पाएको थिएन ।
तर, साउन दोस्रो हप्ताबाट भने जिल्लामा विस्तारै समुदायस्तरमा कोरोना सल्किन थालेको छ । शिवराज नगरपालिकाबाट समुदायस्तरमा देखिन थालेको कोरोना अहिले बाणगंगा, कृष्णनगर, कपिलवस्तु नगरपालिका हुँदै विस्तारै जिल्लाका बिभिन्न पालिकामा फैलिदै गएको छ । यो समाचार तयार पार्दासम्म अहिले जिल्लामा समुदायस्तरका ५० बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ८४ जना रहेका छन् । अहिलेसम्म जिल्लाका ८ सय ४० जनामा संक्रमण देखिए पनि अरु निको भएर घर घर पुगिसकेका छन् ।
समुदायस्तरमा फैलिएको कोरोनाले बैङ्किङ तथा वित्तिय क्षेत्रका कर्मचारी, प्रहरी, शिक्षक, विद्यार्थी, विद्युतका कर्मचारी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी कसैलाई पनि छोडेको छैन् ।
यसै कारण जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नयाँ सूचना जारी गरी शुक्रबारबाट आंशिक निशेधाज्ञा जारी गरेको अवस्था छ । समुदायस्तरमा थप कोरोना नफैलियोस् भन्नको लागि अहिले बैङ्किङ गतिविधि, सार्वजनिक सेवाका कार्यालय, जिल्लाभित्र गुड्ने सार्वजनिक सवारीलाई पूर्ण रुपमा बन्देज लगाइएको छ भने नीजिको हकमा जोर विजोर प्रणाली लागु गरेर सवारी चलाउन अनुमति दिइएको छ ।
जिल्लाको यो स्थितिलाई अहिले बिभिन्न ढंगबाट टिकाटिप्पणी गर्न थालिएको छ । कतिपयले खुकुलो लकडाउनमा सर्वसाधारणले लापरबाही गरेको कारण यस्तो स्थिति आएको भनेका छन् भने कतिपयले सरकारले जारी गरेको पछिल्लो स्वास्थ्य निर्देशिकाको कारण मुलुकको बिभिन्न भागमा यस्तो स्थिति आएको टिप्पणी गरेका छन् । कतिपयले त सरकारले हचुवाको भरमा लक डाउन खुकुलो बनाउँदाको परिणामको रुपमा वर्तमान अवस्थालाई ब्याख्या गर्न थालेका छन् ।
जिल्लामा समुदायस्तरमा एक्कासी कोरोना फैलनुका थुप्रै कारण भए पनि मायादेवी अनलाइनले मुख्यतया ६ कारणले समुदायस्तरमा कोरोना संक्रमणको दर बढाएको विश्लेषण गरेको छ ।
कारण नं. १ः सर्वसाधारणको चरम लापरबाही
चाइना, जापान, कोरियाजस्ता मुलुकमा आज सरकारले के भन्छ भन्दै सर्वसाधारणले सरकारले गरेको निर्णय पर्खेर बस्छन् । रेडियो, टिभी या सामाजिक संजालबाट सरकारले यस्तो निर्णय गर्यो । नागरिकहरुले यस कुरालाई पालना गर्नू । यो काम गर्नू । यो काम नगर्नू भन्ने सूचना दिने वित्तिकै त्यहाँका नागरिकले पालना गरेका उदाहरण छन् । त्यसो हुँदा यी देशहरुमा कोरोना संक्रमण लग्भग् अन्त्यजस्तै देखिन्छ । सिधा कुरो त्यहाँका नागरिकले सरकारले भनेका सबै कुरालाई अक्षरंस पालना गर्दछन् ।
तर, नेपालको मुख्य समस्या भनेको सरकारका अधिकांश निर्णय नागरिक टेर्दैनन् । निर्देशनलाई पटक्कै मान्दैनन् । अटेरी छन् । नियम कानुन मान्ने सबालमा ढुंङ्गो गल्ला तर नागरिकको चेतना गल्दैन । राज्यले दिएका निर्देशनहरुकोे ठाडै अवज्ञा गर्नू, नेपाली नागरिकहरुको विशेषता र गुण नै बनेको छ । यो नै मुलुकमा कोरोना समुदायस्तरमा फैलनुको मुख्य कारण मान्न सकिन्छ । जनताले आफू र आफ्नो परिवार कोरोनाको संक्रमणमा नपरेसम्म मास्कको प्रयोग पनि गर्दैनन् । साबुन पानी या सेनेटाइजर पनि प्रयोग हुन्न । सामाजिक दुरी त झन परको कुरा ।
यो पनि पढ्नुहोस् पान पसलदेखि जुत्ता पसलसम्म मास्कको ब्यापार, ‘कोरोना रोक्ने भन्दा सार्ने डर’!
ब्यापारीहरुलाई पैसा कमाउनको मात्र ध्याउन्न छ । सामाजिक दुरी कायम गर्नू उनीहरुको लागि ‘फलामको चिउरा चपाय’ सरह हुन्छ । सार्वजनिक सेवाका कार्यमा पनि मानिसलाई कति छिटो सकुँ र गफ मारेर बसूँ भन्ने भएर पेलान्पेल हुन्छ । प्रहरीले नियम उलङ्घन गर्नेलाई नियन्त्रणमा लिई गाडीमा कोचेर लैजानु पर्ने बाध्यतात्मक अवस्था छ । जुन हुनु हुँदैनथ्यो । लक डाउन सरकारको लागि हो जस्तो गरी लापरबाही गर्नु समुदायस्तरमा कोरोना फैलनुको मुख्य जड हो ।
देशका नेता, मन्त्री, सांसद र ठुलावडालाई कानुनको कुनै पनि धारा र उपधारले छुन्न भन्दा हुन्छ । उनीहरु जनतालाई बिभिन्न नियमकानुन थोपरिदिएर मस्तीसंगै हिँड्न र बिभिन्न स्थानको सयर गर्न मस्त छन् । सरकारले बनाएको नियमको उनीहरु स्वयम् धज्जी उडाएका छन् । भारत या तेश्रो देशबाट आएका नागरिक लखरलखर गरी समुदायमा घुमफिर गरिरहेका हुन्छन् ।
यस्तो लाग्छ कि उनीहरु भारतबाट कोरोना लिएर सार्नकै लागि नेपाल आएका हुन् ! पत्रकारलाई त झन् कानुनले छेक्ने कुरै भएन् । प्रेस परिचय पत्र देखाएर जे गर्न पनि पत्रकारलाई छुट छ । पत्रकार र संचारकर्मी यस्तरी हिँडिरहेका छन् कि, मानौँ उनीहरु कोरोना लाग्नै मान्छे नै होइनन् । उनीहरु अर्कै ग्रहबाट आएका मानिस हुन् । त्यसैले नेपालमा कोरोना फैलनुको मुख्य कारण भनेको जनताको लापरबाही, अटेरीपना र भनेको नमान्नु नै हो ।
यो पनि पढ्नुहोस् ‘लकडाउन’ नबुझेकै कारण कर्फ्यू जारी भएको हो त ?
कारण नं. २ः सरकारको पछिल्लो स्वास्थ्य निर्देशिका
मुलुकमा कोराना भाइरस सल्केर भित्रभित्रै भुसको आगोझै सल्किरहेको छ भन्ने कुराको कुनै हेक्का नराखी सरकारले फ्याट्टै निर्णय गरिदियो, कोरोनाका लक्षण नदेखिएकालाई अब पीसीआर जाँच पनि नगर्नू । आरडिटी जाँच पनि नगरिदिनू । क्वारेनटाइनमा भएकाहरुलाई चौध दिन राखेपछि लक्षण देखिएन भने तुरुन्त घर फिर्तिको टिकट काटिदिनू ।
सरकारले त कोरोना नियन्त्रणको लागि केही गरेन गरेन । फ्रन्टलाइनमा बसेर कोरोना नियन्त्रणमा खटिएका स्थानीय सरकारलाई भने यो स्वास्थ्य निर्देशिका ‘के खोज्छस् कानो आँखो’ भनेजस्तै भयो । खटिएर काम गरेको अवस्थामा पनि सरकारको यो निर्देशनपछि पालिकाहरुले पनि के गरुन्, चौध दिन भएका नभएका सबैलाई मिलाइएर घर फर्काइदिन थाले । कतिसम्म भने चौध दिन क्वारेनटाइनमा बस्दा पनि कुनै लक्षण नदेखिएकाहरुलाई जाँच्दै नजाँचि कोरोना रिपोर्ट आफूखुसी भरेर हस्ताक्षर गरी धमाधम फर्काए । यस्तो गैरजिममेवारीपना र लापरबाही धेरै पालिकामा देखियो ।
त्यसपछि भरिएका क्वारेनटाइन धमाधम खाली हुन थाले । पीसीआर जाँच हुँदै नभएपछि कोरोना संक्रमित पनि थपियून् कसरी ? अनि कोरोनामुक्त हुन थाले पालिकाहरु । अस्तिभर्खरसम्म कपिलवस्तु कोरोनामुक्त जिल्लाको सूचीमा आउनै लागेको थियो । एक दुई पालिकामा मात्र थोरै संख्यामा संक्रमित थिए ।
त्यसपछि उनीहरु सबै आ–आफ्नो घर गए । सरकारको यो निर्देशिकासंगै घर गएकाहरुले पनि कोरोना फैलाएको हुन सक्ने आंकलन अहिले सबैले गर्न थालेका छन् । क्वारेनटाइनमा बसेकाहरुले घर गई साथीसंगीसंग पार्टी गर्ने, घुमफिर गर्ने, खेल खेल्ने आदि गरेका कारण पनि समुदायमा ह्वात्तै कोरोना फैलिएको आंकलन गर्न सकिन्छ ।
कारण नं. ३ः खुला सीमा, नाकामा कडाइ जागीर पचाउनकै लागि !
नयाँ स्वास्थ्य निर्देशिकासंगै सरकारले भारत या तेश्रो मुलुकबाट आएकाहरुलाई सीमा नाकामा बनाइएको ‘होल्डिङ सेन्टर’मा राख्ने भनेर भन्यो । केही दिनसम्म यो नियम राम्रैसंग लागु पनि भयो । तर विस्तारै यस नियमको धज्जी उड्न थाल्यो कपिलवस्तुमा । सीमा नाकामा नेपाली सेनाले बन्दूकको नाल तेश्राएर बसेपछि मानिसहरु छिर्ने कुरै भएन । यस्तो अवस्था देखिसकेपछि प्रशासनलाई गफ लाउन भै हाल्यो, जिल्लामा भारतबाट मानिसहरु आउने क्रम छैन । कोरोना फैलने कुरै छैन् । ढुक्क हुनुहोस् अब केही हुँदैन । नाकामा बन्दूकको नाल तेश्राएर बसेका ती सेना र सशस्त्रको जत्थाले खुलासीमाबाट मानिसहरु छिरेको देखेनन् । रातदिन जिल्लाका खुला नाकाबाट कति नागरिक भारतबाट छिरे गनि साध्य छैन् । सीमा नाकामा बसेका नागरिकले यो विषयमा मायादेवी अनलाइनसंग निरन्तर रिपोर्टिङ गरिरहेका छन् । भारत अहिले अमेरिका पछिको दोश्रो कोरोना महामारीको चपेटामा परेको मूलुकको सूचीमा आएको छ । धेरै नेपालीहरु काम र मामको खोजीमा भारतमा छन् । लामो समय लकडाउन भएपछि कति नेपाली यसअघि नै नेपाल आएका थिए भने त्यहाँ संक्रमण तीव्र भएपछि अहिले त्यहाँबाट नागरिकहरु लुकीछिपी आइरहेका छन् । तर यो कुराको हेक्का कुनै सुरक्षा निकायलाई छैन । त्यसैले कपिलवस्तुमा समुदायस्तरमा कोरोना फैलिरहेको सजिलै बुझ्न सकिन्छ ।
कारण नं. ४ः रमिते प्रशासन, अटेरी सरकारी अड्डा !
कपिलवस्तुमा कोरोना समुदायस्तरमा फैलनुको अर्को कारण प्रशासनको कच्चा निर्णय, रमितेपना र अटेरी सरकारी अड्डा पनि हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना नियन्त्रणको लागि भन्दै धेरै महत्वपूर्ण निर्णय त गर्यो, तर ती सबैको धज्जी उड्यो । प्रशासनको निर्णयका बाबजुत पसल व्यवसायमा सामाजिक दुरी कायम गर्ने सबालदेखि रेष्टुराँसम्म भोजभतेरसम्म चल्यो । होम डेलिभरी मार्फत् होटल र रेष्टुरेन्टले आफ्नो काम चलाउने भनिए पनि त्यहाँ मानिसको खाने, खेल्ने, कार्यक्रम चल्ने भीँड नै चल्यो । सरकारी, गैर सरकारी तथा नीजि संघसंस्थाले बिभिन्न स्थानमा कार्यक्रमहरु संचालन गर्नेसम्म काम गरे । सरकारी विद्यालय स्वयम्ले सरकारको निर्णय पालना गरेनन् ।
यो पनि पढ्नुहोस् तौलिहवास्थित सिडियो कार्यालय आसपासको यो ‘लकडाउन’ !
बिभिन्न सिकाई केन्द्रहरु संचालनमा आए । कति पालिकाका विद्यालयले त कक्षा नै चलाए । नीजि विद्यालयले भित्रभित्रै कक्षा चलाए । यो सबै प्रशासन र राज्यको नीति बाहिर थियो । यसतर्फ कपिलवस्तु प्रशासन र पालिकाको कुनै ध्यान गएन । सुरक्षा निकाय पनि मूकदर्शक बने । शिवराज नगरपालिकामा समुदायस्तरमा कोरोना फैलनुको कारण नै शैक्षिक गतिविधि थियो । त्यहाँका विद्यालय खुलेर केही गतिविधि पनि बढे । पछि पीसीआर जाँच भएपछि शिवराजमा शिक्षक, विद्यार्थी, वडा सचिव लगायतमा कोरोना देखिएको थियो ।
यस्तै प्रशासनकै अगाडी सदरमुकाम तौलिहवाका बैङ्क तथा वित्तिय संस्था, सरकारी कामकाज हुने स्थान (मालपोत, विद्युत, राजश्व, खानेपानी आदि) मा यतिसम्म भीँड हुन्थ्यो कि मानौँ नयाँ मानिस मेला लागेको भनेर झुकिन्थे । भीँड भएकाहरुले न सामाजिक दुरी कायम गरेका हुन्थे न त मास्क नै प्रयोग भएको हुन्थ्यो । यी सबै लापरबाही हुनुमा प्रशासनको मुख्य दोष देखिन्छ । त्यसैले अहिले कपिलवस्तुमा एक्कासी कोरोना समुदायस्तरमा फैलिएको हो ।
यो पनि हेर्नुहोस् किन हुँदैन कपिलवस्तुमा लकडाउनको पालना ? वाणिज्य बैंक चारनम्बर अगाडि यो जात्रा ! (भिडियोसहित)
कारण नं. ५ः समुदायमा पीसीआर जाँचको दायरा नबढ्नू ।
कुनै मानिसलाई कोरोना संक्रमण भयो या भएन भनी जाँच गर्ने भरपर्दो विधि पीसीआर जाँच ( नमुना थ्रोट स्वाब) संकलन हो । जिल्लामा कोरोना संक्रमण सुरु भएर प्रदेशकै प्रमुख केन्द्र बन्दा पनि कोरोना जाँचको दायरा त्यति बढ्न सकेन । कोरोना जति बढ्दो गतिमा गयो सो अनुसार कीट आउन सकेन । जिल्लाका १० पालिकामै कीट सधैँ अभाव भयो । कीट अभावकै कारण १४ दिनपछि कोरोना जाँच गर्न पाउनु पर्ने अधिकारबाट क्वारेनटाइनमा बसेकाहरु बंचित भए ।
यस्तोसम्मको स्थिति आयो कि १ महिनासम्म पनि पीसीआर जाँच नभएपछि क्वारेनटाइनमा विद्रोह गर्नुपर्ने स्थितिसमेत आएको थियो । कति क्वारेनटाइनबाट भागे भने कति क्वारेनटाइनमै सहज रुपमा जान मानेनन् ।
‘सेलेक्टेड’ मानिसले मात्र पीसीआर जाँच गर्न पाए । समुदायस्तरमा पीसीआर जाँच पुग्नै सकेन । यस्तो भए पछि कोरोनाको संक्रमणको दर कसरी फैलिएको छ ? थाहा हुने कुरै भएन ।
सरकारको पछिल्लो स्वास्थ्य निर्देशिकापछि त पालिकाहरु पीसीसआर जाँच गर्ने टन्टाबाट मुक्त नै भए भन्दा हुन्छ । यसरी मुक्त भए कि उनीहरुलाई अब कोरोना आउँदै आउँदैन जस्तो लाग्यो । चीन, कोरिया, अष्ट्रेलिया जस्ता देशमा कोरोना नियन्त्रण भएर फेरि फैलिएको थियो ।
कोरोनाको यो प्रकृतिलाई यहाँका सांसद, मन्त्री, जनप्रतिनिधि र सरोकारवालाले भुसुक्कै विर्सिए या यस्ता विषयमा उनीहरुमा ज्ञान नै भएन । कोरोनाबाट सँधैको लागि मुक्त भएजसरी धमाधम आइसोलेसन र क्वारेनटाइन खाली गर्न थाले । कोरोना समुदायस्तरमा फैलन सक्छ भनेर पीसीआर जाँच गर्नेतर्फ कसैको ध्यान गएन । कीट खरिदतर्फ नेता, मन्त्री, मेयर, उप–मेयर कसैले पनि चासो दिएनन् । अहिले समुदायस्तरमा सल्किएपछि मात्र उनीहरुको टाउको दुखाई बनेको छ । बल्ल कीटको खोजिमा यहाँका सरोकारवाला लागेका छन् ।
कारण नं. ६ः सर्वसाधारणको बुझाई छः ‘कोरोना केही रहेनछ’
समुदायस्तरमा कोरोना फैलनुको अर्को कारण हो कोरोनालाई सर्वसाधारणले सामान्य रुपमा लिनू । कपिलवस्तुमा एक जनामा कोरोना देखिएपछि स्वास रोकिएका मानिसहरु करिब ९ सय पुग्न लाग्दा भने कोरोना केही रहेनछ भनेर चोकचोकमा गफ्फिएका देखिन्छन् । लामो लकडाउन भएर खुकुलो भए पछि लगभग् सबै मानिसले उच्चारण गर्ने वाक्य हो ‘सरकारले बेकार लक डाउन गर्यो ? आखिर केही हुने रैनछ ? कोरोना त के रहेछ र ? कोरोनाप्रतिको यो बुझाई पनि समुदायको लागि प्रत्युत्पादक बन्यो । मानिसले कोरोनालाई हचुवाको रुपमा बुझे । विश्वमा अहिले सात लाख मानिसहरुको मृत्युवरण गराइसकोको यस रोगलाई यति हलुङ्गो पाराले बुझ्नु किमार्थ राम्रो होइन । कोरोना सर्ने खास कारण र यसको उपचार पद्धती अहिलेसम्म पत्ता नलागेको हुँदा जसलाई, जतिखेर पनि कोरोनाको संक्रमण हुन सक्छ । मनोबल उच्च बनाउने तर कोरोनालाई सामान्य रोगको रुपमा लिनु हुँदैन । यस्तै विदेशका मानिसलाई नेपाल ल्याउनु लगायतका काम पनि पछिल्लो समय समुदायस्तरमा कोरोना फैल्ने कारण बनेका छन् ।
कोरोना तीव्र गतिमा फैलने प्राणघातक सरुवा रोग हो । यसमा कसैले लापरबाही नगरौँ । माथि उल्लेखित कुराहरुमा सावधानी अपनाएर आआफू सचेत र सजग बनौँ । सजिलै कोरोनालाई जित्न सकिन्छ ।
प्रतिक्रिया