१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कपिलवस्तु सामुदायिक अस्पतालका चिकित्सकलाई कोरोना लागेको भन्ने हल्ला निराधार



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण भएको भन्ने खबर निराधार रहेको भन्दै कपिलवस्तु सामुदायिक अस्पतालले प्रष्ट पारेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ४ मा अवस्थित यस अस्पतालमा कार्यरत कुनै पनि कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको भन्ने हल्ला समुदाय स्तरमा फैलिएकाले यसबारे मिडियाबाट जानकारी गराएको हो ।

अस्पतालका अध्यक्ष रामजी सेनले अस्पतालबारे अनावश्यक रुपमा फैलाइएको हल्लाले आफू चिन्तित रहेको बताउँदै त्यस प्रकारको हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नु भयो । कोरोनाको बीचमा पनि चिकित्सक र कर्मचारीले आफ्नो जिउज्यानको प्रबाह नगरी सेवा प्रबाह गरेको स्मरण गर्दै अझै पनि यसमा कुनै कमी नहुने उहाँले प्रष्ट पार्नु भएको छ ।

उहाँले साउन १ गतेबाट ओपिडी सेवा पनि नियमित रुपमा सुरु भएकाले सोही अनुसार बुझ्न सबैलाई अनुरोध गर्नु भयो । अस्पतालका महासचिव पोम नारायण पौडेलले पुरै सावधानी अपनाएर चिकित्सकीय सेवा प्रदान गरिरहेकाले ढुक्क भएर अस्पताल आउन आग्रह सर्वसाधारणलाई आग्रह गर्नु भयो ।

अस्पतालमा नियमित सेवाका अतिरिक्त अब हरेक शनिबार महिला, प्रसुति रोग र हाड जोर्नी तथा नशा रोग विशेष सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । बुटवलका अनुभवी विशेषज्ञ डाक्टरबाट यी सेवा संचालन हुने भएकाले ढुक्क हुन डाक्टर दिपेन्द्र चन्दले सर्वसाधारणलाई भन्नुभएको छ ।

यस क्षेत्रमा प्रसुति तथा महिला र हाड जोर्नी नशासम्बन्धि राम्रो उपचार गर्न भएको समस्यालाई मध्येनजर गरी यो सेवा पनि थप भएको डा चन्दले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । यी सेवाको अधिकतम लाभ लिन अध्यक्ष सेनले सर्वसाधारणलाई अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : २१ श्रावण २०७७ बुधबार ००:००  १२ : २३ बजे