८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा समुदायका ३ सय २० जनाको स्वाब लिइयो, रिपोर्ट कहिले आउँला ?



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा नोवेल कोरोना भाइरस (कोभिड–१९) को परिक्षण दर समुदायस्तरमा बढाउन थालिएको छ । कोरोना भाइरस समुदायस्तरमा फैलिएको शंकाका बीच जिल्लामा कोरोनाको परिक्षण समुदायस्तरमा गर्न थालिएको हो ।

जिल्लाभित्रका केही समुदाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, चिकित्सक, एनजिओकर्मी, पसल व्यवसायी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतको विभिन्न स्थानबाट कोरोना परिक्षणको लागि नमुना स्वाब संकलन गरिएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले आइतबार दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा गरी ३ सय २० जनाको नमुना संकलन गरिएको हो ।

कार्यालयका अनुसार महाराजगञ्ज नगरपालिका वडा नं. ९ मा ३६ जना, वडा नं. १ का ४२ जनाको स्वाब संकलन गरिएको छ भने यशोधरा गाउँपालिकाको वडा नं. ६ मा ५४ जनाको स्वाब संकलन भएको छ । यी दुई स्थानीय तहमा समुदायस्तरका व्यक्तिको स्वाब संकलन गरिएको हो ।

जिल्लाको कृष्णनगर नगरपालिकाका भने प्रहरी र शसस्त्र गरी २० जनाको नमुना संकलन गरिएको छ । जसमा इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरीका १०/१० जना रहेका छन् ।

यो पनि पढ्नुहोस् त्रासमा कृष्णनगरका सुरक्षाकर्मीः श्रीमान कोरोना संक्रमित, श्रीमती डियुटीमै व्यस्त !

जिल्लामा पहिलो पटक समुदायस्तरमा कोरोना फैलिएको शिवराज नगरपालिकामा पसल व्यवसाय सञ्चालन गर्ने ३३ जनाको स्वाब लिइएको छ ।

यो पनि पढ्नुहोस् शिवराजमा कोरोनाः विदेशबाट आएका व्यक्ति गाउँ-गाउँ चाहरे, आफै संक्रमित भए, अरुलाई सारे !

जिल्ला सदरमुकाम तौलिहवामा भने बैंक तथा बित्तिय संस्थाका कर्मचारीको स्वाब लिइएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुखलाई नै कोरोना देखिएको तौलिहवामा बैंक तथा बित्तिय संस्थालाई बढी प्राथमिकता दिइएको हो ।

यो पनि पढ्नुहोस् राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका म्यानेजरलाई कोरोना पुष्टि

यस्तै तौलिहवा बजार भित्रका औषधि पसल तथा पोलिक्लिनिक, निदान केन्द्रबाट ३६ जनाको नमुना संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सेवा प्रदायकको तर्फबाट मायादेवी गाउँपालिकाका १६ जना स्वास्थ्यकर्मी, पालिका र वाड कार्यालयमा कार्यरत १७ जना कर्मचारी गरी कुल ३३ जनाको नमुना संकलन गरिएको छ भने कृष्णनगर नगरपालिकामा कार्यरत ६ जनाको पनि नमुना संकलन भएको छ ।

जिल्लामा क्रियाशिल गैरसरकारी संस्था (एनजिओ) मा कार्यरत १० जनाको नमुना संकलन भएको छ भने तौलिहवा बजारमा अधिक भिड भाड हुने चिया पसल र अन्य पसल गरी ४० जनाको नमुना संकलन लिइएको छ । उक्त नमुना स्वाबहरुको विभिन्न प्रयोगशालामा परिक्षण भैरहेको छ । केहि दिनमा सबैको रिपोर्ट आउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ७ : ४३ बजे