८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चिनियाँ ताल फुट्ने जोखिम, नेपालीलाई सचेत रहन आग्रह



सिन्धुपाल्चोक ।

छिमेकी मुलुक चीनस्थित न्याल क्षेत्रमा केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ ।
त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
“शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ । त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ,” उनले भने ।

तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो ।

भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।

बाह्रबीसे –तातोपानी सडक अस्थायी सञ्चालन

गत असार २५ गते राति आएको बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको सक्रियतामा सडक डिभिजन कार्यलय, नेपाल ट्रक कण्टेनर सङ्घ, मध्यभोटेकोशी आयोजनालगायत संस्थाको विशेष सहयोगमा सडक सञ्चालन हुन लागेको होे ।

बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड हालका लागि अस्थायी रुपमा सञ्चालन गर्नयोग्य भएको छ । अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना, खाग्गदलमा यसअघि नै अस्थायी रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन भइसकेको छ । सबैभन्दा समस्या रहेको जम्बुमा ह्युमपाइप राखेर अस्थायी रुपमा सडक निर्माण भएको सडक कार्यालय चरीकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

बाढीपहिराले सबैभन्दा बढी क्षति भएको जम्बुमा ह्युमपाइप राखी तीन लाइनको कल्भर्ट निर्माण गरेर अस्थायीरुपमा सडक निर्माण गरिएको महतोले बताए । उनका अनुसार अस्थायी रुपमा यातायातका साधन सञ्चालन भएसँगै स्थायी रुपमा सडक निर्माणका लागि पनि प्रक्रिया शुरु गरिएको छ ।
(रासस)

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ३ : ५२ बजे