७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

वाणगंगामा यी सहकारीबाट पाइने भयो युरिया मल



मायादेवी अनलाइन, जीतपुर ।
कपिलवस्तुको बाणगंगाका बिभिन्न सहकारीमा युरिया मल आउँदै छ । बाणगंगा वैरियाको कृषि सहकारीमा शनिबार साँझसम्म अनुदानको युरिया मल आउने जनाइएको थियो ।

आज बाणगंगा मौरी पालन तथा ऋण सहकारीमा युरिया मल आउन लागेको सहकारीका अध्यक्ष लिलापति घिमिरेले बताउनु भयो । उहाँले सामाजिक दुरी कायम गरी मल वितरण गरिने बताउँदै अनावश्यक भीड नगर्न पनि सदस्यहरुलाई आग्रह गर्नुभएको छ । सहकारीका सदस्य बाहेक अरुलाई मल बाड्न सक्ने अवस्था नभएको घिमिरेले बताउनुभयो ।

यस्तै नगरका अन्य कृषि सहकारीमा पनि अनुदानको युरिया मल आउँदै छ । यस विषयमा मायादेवीले बुज्दा आजै मल नआए पनि केही दिनमा मल आउन सक्ने जनाइएको छ । समयमा खेत रोप्न पाए पनि किसानले समयमा युरिया मल नपाएपछि युरिया छर्ने समयमा युरिया छर्न पाएका छैनन् ।

किसान महासंघद्धारा सरकारको ध्यानाकर्षण

वर्षौ देखि नेपाली भूमी डुवानमा परेकाले भारतसंग कुटनीतिक पहल गरी समस्या समाधान गर्न अखिल नेपाल किसान महासंघ नेपालले आग्रह गरेको छ । महासंघले शनिबार एक विज्ञप्ती जारी गर्दै वर्षौ देखि नेपाली खेतीयोग्य जमिन डुबानमा परेको भन्दै यस तर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

कपिलवस्तु जिल्लाको दक्षिणी भुभाग बजाहा बाध र महली सागर क्षेत्रमा बर्षादको समयमा विगत देखिनै सयौँ किसानहरुको हजारौँ बिगाहा जमिन डुवानमा परेको भन्दै भारतसंग कुटनैतिक पहल गरी दिर्घकालिन समाधान खोज्न आग्रह गरिएको छ ।

अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य ताराजन घिमिरेद्धारा जारी विज्ञप्तीमा भनिएको छ–“ यस वर्ष किसानहरुले अनुदानको युरिया मल नपाएको र महंगो मुल्यमा भारतीय युरिया मल प्रयोग गर्न बाध्य भएको भन्दै किसानहरुलाई अनुदानको मल उपलब्ध गराउन विज्ञप्ती मार्फत आग्रह गर्दछु ।”

किसानहरुले समयमै मल प्राप्त गर्न नसके सम्बन्धित निकाय विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

साथै निश्चित दररेट कायम गरी निजी क्षेत्रलाई अनुदानमा बेच्ने ब्यवस्था गरिदिए मलको यति धेरै अभाव नहुने भन्दै यस तर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ७ : ०८ बजे