९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाढीपहिरो बितण्डाः १३५ जनाको मृत्यु, ५० जना अझै बेपत्ता



काठमाडौँ ।
नेपालमा यो वर्षको मनसुन भित्रिएको शनिबार ४३ औँ दिन हो । यो वर्ष देशभर भारी वर्षा, बाढी तथा पहिरोका घटनाले जनधनको क्षति ठूलो भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका अनुसार मनसुनको अवधिमा भारी वर्षा, बाढी तथा पहिरोका घटनामा कुल १३५ जनाको ज्यान गएको छ । अरु ५० जना अझै बेपत्ता रहेका छन्।

देशभर यो अवधिमा सबैभन्दा धेरै पहिरोका कारण १२६ जनाको ज्यान गएको छ भने ४३ जना अझै बेपत्ता छन् । पहिरोबाट ३७८ परिवार प्रभावित भएकोमा २६६ घरमा क्षति पुगेको छ।

यस्तै भारी वर्षाका कारण ६ जनाको मृत्यु तथा एकजना बेपत्ता रहेको परिषदले उल्लेख गरेको छ । देशभर भारी वर्षका कारण मनसुन अवधिमा ४४८ परिवार प्रभावित भएका छन्। यस्तै बाढीबाट अहिलेसम्म तीनजनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता छन् ।

बाढीका कारण देशभर २०६ परिवार प्रभावित भएको परिषदले जनाएको छ। मनसुन अझै बाँकी रहेकाले विपदका घटना र क्षति बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ।

भारी वर्षा, बाढी तथा पहिरोबाट मनसुन अवधिमा गएको वर्ष ११७ जनाको ज्यान गएको थियो। त्यो भन्दा अघिल्लो वर्ष ३७ जनाले ज्यान गुमाएको थिए। यो वर्ष भने मनसुन नसकिँदै १३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७ शनिबार ००:००  १० : ३७ बजे