वीरगन्ज ।
वीरगन्जमा तीन दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीन जनाको मृत्यु भएको हो । गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत बाराको परवानीपुर गाउँपालिका ४ की १९ वर्षीया युवतीको शुक्रबार मृत्यु भएको हो । उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यसअघि शुक्रबार बिहान वीरगन्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसअघि गत मङगलबार पनि आइसोलेसनमै मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीया बृद्धमा पनि बुधबार राति संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार साँझ मृत्यु पछिमात्र युवतीमा कोरोना पुष्टि भएको कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । यसअघि उनमा आरडिटी रिपोर्ट पनि पोजिटिभ देखिएको थियो ।
गत बुधबार स्वास्थ्यमा समस्या आएपछि युवतीलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोनाको शंका लागेपछि चिकित्सकले युवतीको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । तर प्रयोगशालाबाट रिपोर्ट आउन ढिला भएपछि उनलाई बिहीबार राति साढे ९ बजे तिर वीरगन्ज हेल्थ केयरबाट गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको छ ।
हेल्थ केयर अस्पतालमा आरडीटी पोजिटिभ देखिएपछि युवतीलाई राति कोभिड अस्पतालमा ल्याइएको थियो । नारायणी अस्पतालको प्रयोगशालाबाट शुक्रबार बेलुकी पीसीआर रिपोर्ट पनि आएकाले शव अस्पतालकै आइसोलेसनमा राखिएको र शनिबार सेनाले शव व्यवस्थापन गर्ने डा. सिंहले जानकारी दिए ।
प्रतिक्रिया