९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उत्तर कोरियामा मास्क अनिवार्य, नलगाए तीन महिना श्रम कैद बस्नुपर्ने



एजेन्सी ।
आफ्नो देशमा अहिलेसम्म कोरोना भाइरस प्रवेश नगरेको बताइरहेको उत्तर कोरियाले मास्क लगाउन अनिवार्य गरेको छ ।

कठोर कानुन भएको उत्तर कोरियाले मास्क नलगाएमा तीन महिना श्रम कैद सजाय तोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

यदि कोही मास्क नलगाइ सार्वजनिक ठाउँमा निस्किएमा उसलाई पक्राउ गरेर तीन महिना श्रम कैद राख्ने व्यवस्था गरेको डेलीमेलले जनाएको छ ।

मास्क लगाएरनलगाएको हेर्नको लागि विद्यार्थीहरुको टोली खटाउने तयारी थालेको पनि खबरमा उल्लेख छ ।

उत्तर कोरियाले यसअघि नै समूहमा बस्न रोक लगाउँदै सीमा क्षेत्रका मानिसहरु अरुभन्दा अलग बस्नुपर्ने नियम लागू गरिसकेको छ । कोरोना प्रभावित चीन र दक्षिण कोरियाको सीमामा रहेको उत्तर कोरियाले आफूलाई कोरोनामुक्त क्षेत्र घोषणा गरेको छ ।

तर अरु देशले सूचनामा निकै कडाइ गर्ने उत्तर कोरियाले सूचना लुकाएको वा परीक्षण नै नगरेको बताइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तर कोरियामा अहिलेसम्म नौ सय २२ जनाको परीक्षण गरिएकोमा कसैमा पनि सङ्क्रमण देखिएको छैन ।

विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ५६ लाख ६६ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा ६ लाख ३६ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ९५ लाख ५४ हजार आठ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी घोषणा गरेको यो भाइरस विश्वका सीमित ठाउँमा मात्र पुग्न बाँकी रहेको सङ्गठनले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  २ : ३० बजे