९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालगञ्जमा गरिएको मजदुरको स्वाब संकलन



नेपालगञ्ज ।
नेपालगञ्जमा विहीबार मजदुरको स्वाव संकलन गरिएको छ । कामका लागि नेपालगञ्जको त्रिभुवनचोकमा जम्मा हुने मजदुरको स्वाब संकलन गरिएको हो ।

‘पहुँचवाला’ को मात्रै पीसीआर जाँच भइरहेको गुनासो हुन थालेपछि जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले त्रिभुवनचोकमा बसेर मजदुरको स्वाव संकलन गरेको हो ।

त्रिभुवनचोकमा बिहीबार बिहान ठूलो संख्याका मजदुरहरु कामका लागि आउने गर्दछन् । त्यहाँ जम्मा हुने मजदुरलाई कामदार चाहिएको मान्छेले आएर लैजाने गर्दछन् ।

कसौंधन बैश्य समाज र रेडक्रसको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले त्रिभुवनचोकमा जम्मा हुने मजदुर र आसपासका पसल वा घरमा काम गर्नेहरुको स्वाब संकलन गरेको छ । स्वाब संकलनमा सहभागी हुन कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले माइकिङ गर्नुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले एक सय ३० जनाको स्वाब संकलन गरेको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले निशुल्क पीसीआर जाँचको व्यवस्था मिलाएको भए पनि त्रिभुवनचोकमा कामकै लागि आउने धेरैले त्यसमा चासो देखाएका थिएनन् ।

जिल्ला स्वास्थ्य कार्यालयले बाँकेमा पत्रकार, कानून व्यवसायी, स्वास्थ्यकर्मी, बैंकर्सहरुको पीसीआर जाँच गरिसकेको छ । यी पेशाका मानिसको धेरै जनासँग भेटघाट हुने गर्दछ ।

बाँकेमा अहिलेसम्म दश हजारबढीको पीसीआर जाँच गरिसकिएको छ । नौ हजार बढीको आरडीटी जाँच गरिएको छ । ३ सय ९६ जना संक्रमित भएका छन् । निको हुन बाँकी २४ जना रहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ७ : ०० बजे