९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पान पसलदेखि जुत्ता पसलसम्म मास्कको ब्यापार, ‘कोरोना रोक्ने भन्दा सार्ने डर’!



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
विशेष कामको शिलशिलामा म मंगलबार कपिलवस्तुको सदरमुकाम तौलिहवा पुगेको थिएँ । तौलिहवाका मुख्य चोकहरुमा पुग्दा मास्कको विक्रि–वितरणको तरिका देखेर उदेक नै लाग्यो । पान पसलदेखि जुत्ता पसलसम्म, किराना पसलदेखि साइकल पसलसम्म सबैले अगाडी ‘तुर्लुङ्ग’ मास्क झुण्ड्याएर मस्तीसंग मास्कको ब्यापार गरिरहेका छन् । गल्ली र बाटामा जति पसल छन् लगभग सबैमा खुल्लमखुल्ला मास्कको ब्यापार चलेको देखिन्छ । मास्कलाई एकएक गरी चट्टसंग मिलाएर झुण्ड्याइएको छ । यस्तो दृश्य तौलिहवा मात्रै हो कि अन्यत्रमा पनि भनेर त्यसपछि मैले चिहाएँ । तौलिहवाबाट चार नम्बर र चार नम्बरबाट बनगाई, बोडगाउँ, पिपरासम्म पनि बिभिन्न पसल र चोकहरुमा मास्कहरु झुण्ड्याइएरै व्यापार गरेको पाइयो । कति स्थानमा भुँइमा फिजाएर मास्क बेचिएको थियो भने धेरै स्थानमा माथि झुण्ड्याएर ।

कपिलवस्तु तौलिहवाको एक पसलमा झुण्ड्याइएको माक्स । मायादेवी अनलाइन

वरिपरि धुलैधुलो । मानिसहरुको बाक्लो आवतजावत् । सवारी साधनको प्रदुषण । तै पनि मानिसहरु झुण्ड्याएका मास्क किनिरहेका छन् । ब्यापारी बेचिरहेका छन् । कोभिड–१९ अर्थात् कोरोनाको संक्रमणबाट जोगिन भन्दै विश्वमै मास्क (मुखावरण) प्रयोग अनिवार्य गरिएको कारण पनि मानिसहरु अहिले मास्कको ब्यापारमा छन् भने जुनसुकै स्थानबाट मानिसहरु मास्क किन्न बाध्य छन् । मास्कले कोरोनाको संक्रमणलाई रोक्छ या रोक्दैन भनेर विश्व स्वास्थ्य संगठनले पनि अझैसम्म पुष्टि गर्न सकेको छैन् तर मास्क भने लगभग सबै मुलुकमा अनिबार्य गरिएको छ । अन्य सरुवा रोगबाट बच्न पनि मास्क प्रयोग लगभग अनिबार्य जस्तै छ ।

कोरोना प्रभावित विश्वका २ सय १४ मुलुकका सरकारले अहिले जनतालाई मास्क प्रयोग अनिवार्य गराएका छन् । त्यसैले पनि हुन सक्छ अहिले ब्यापार भनेकै मास्क भन्ने भनाई चलेको छ मानिसहरुमा ।

मास्कको प्रयोग र वितरण विकसित देशहरुमा त नियमसंगत छ । तर, नेपालजस्ता गरिब र विकासोन्मुख देशहरुमा यसको विक्रि वितरण र प्रयोग सम्बन्धि ज्ञानको कमीले मास्क कोरोना (सरुवा रोगहरु) रोक्ने भन्दा पनि सार्ने माध्यम बन्न थालेको छ । यस्ता देशका नागरिकले एक त मास्कको प्रयोग गर्न जान्दैनन् भने अर्को मास्कको विक्रि वितरण जथाभावी हुँदा पनि यस्तो समस्या आएको चिकित्सकहरु बताउँछन् ।

अहिले बजारमा दुई÷तीन प्रकारका मास्कहरु उपलब्ध छन्, कपडाको, सर्जिकल माक्स र धुलोविरुद्धको मास्क । यी मास्कको विक्रि गर्दा ग्राहकले प्याकिङबाटै पाउनु पर्नेमा खुलेयाम विक्रि भएको पाइन्छ । चिकित्सकहरु मास्कको यस्तो ब्यापारलाई झन् जोखिम मान्दछन् ।

बजारमा बेचिने यस्ता मास्क सुरक्षित नहुने फिजिसियन डाक्टर प्रकाश पुन बताउनु हुन्छ । सर्जिकल मास्क र अन्य कपडाका मास्क एकपटक प्रयोग गरिसकेपछि पछि फेरि एक प्रकारले काम नलाग्ने भएका हुन्छन् । तर यहाँ त पहिल्यै किटाणु टाँसिएका मास्कहरु किनेर जनताले प्रयोग गरिरहेका छन् । जुन अत्यन्तै घातक छ । यसरी बजारमा किनिएका मास्कहरु पहिल्यै असुरक्षित रहेको पुन बताउनु हुन्छ ।

उहाँले भन्नुभयो,–‘सर्जिकल मास्कको सम्बन्धमा त यसरी बेच्नु कोरोना लगायत जिवाणु निम्त्याउने काम हो । यसले रोक्न भन्दा पनि मास्कसंगै किन्ने मान्छेले बिभिन्न रोगका किटाणु घरमा लिएर गएको हुन्छ । यसमा मानिसले पटक्कै ध्यान दिँदैन ।’

डाक्टर पुनले बजारमा यसरी झुण्ड्याइएका मास्क किन्न र प्रयोग गर्नै नहुने बताउनुहुन्छ । सर्जिकल मास्कमा हावा शुद्धिकरणको लागि एक रसायन प्रयोग गरिएको हुन्छ । यसरी लामो समयसम्म खुला राख्दा रसायन नष्ट भइसकेको हुँदा प्रयोग पछि काम नगर्ने बताउनु भयो ।

चितवन मेडिकल कलेजका डाक्टर प्रदीप घिमिरेका अनुसार बेच्ने मान्छेले पनि ग्राहक आए पछि मात्र प्याकिङ खोलेर दिनु पर्ने बताउनुहुन्छ । पहिल्यै खोलेर बाहिर राखिएका मास्क रोगको घर भएको उहाको भनाई छ । उहाँले थप्नु भयो,–‘बजारमा बिभिन्न सरुवा रोग बोकेर मानिसहरु हिँडिरहेका हुन्छन् । कति धेरै रोगहरु त हावाबाट नै सर्ने खालका हुन्छन् । यसरी खुलेआम विक्रिका लागि राखिएका मास्क प्रयोग गर्दा निरोगी मान्छे पनि क्षणभरमै विरामी हुन्छन् ।’

बोडगाउँस्थित दीगो फार्मेसीका संचालक बेदुराम पोख्रेलका अनुसार औषधालय र स्वास्थ्य संस्थाबाहेक अरु पसलहरुमा सर्जिकल मास्क बेच्नै पाइन्न । तर यहाँ त जुत्तापसलदेखि पान पसलसम्मले मास्कको अवैधनिक कारोबार गरिरहेका छन् । उहाँ गाउँघरमा निर्मित कपडाको मास्क सन्तुष्टिका लागि मात्रै प्रयोग भइरहेको बताउनुहुन्छ । यस्ता मास्कले वास्तवमा काम नै गर्दैनन् ।

तर यस कुरामा सम्बन्धित निकायको ध्यान नै पुगेको देखिँदैन । नत स्वास्थ्य संस्थाले यसमा ख्याल गर्दछन् न त स्थानीय तहमा उप–मेयरको संयोजकत्वमा गठन भएको अनुगमन समितिले निरिक्षण र अनुगमन गर्दछ । त्यसैले पनि यो समस्या ज्युका त्यूँ छ । मास्कको यस्तो ब्यापार कपिलवस्तुमा मात्र नभएर देश भरी नै ब्याप्त छ । मुलुकको राजधानी मानिएको काठमाण्डौँ उपत्यकासहित चर्चित सहरहरु चितवन, पोखरा, बुटवल, धनगढी लगायतमा पनि मास्कको खुलमखुला तुर्लुङ्ग झुण्ड्याएर ब्यापार हुन्छ । त्यहाँ पनि कसैको नजर परेको देखिन्न ।

मास्क प्रयोग गरेपछि निश्चित स्थानमा त्यसलाई राख्नु पर्छ । बालवालिकाले चलाउने ठाउँमा राख्नु हुँदैन् । घरमा कुनै व्यक्तिमा मौसमी फ्लु या कोरोना संक्रमण भएको छैन भने मास्क लगाउनु पर्दैन तर मानिसहरुको बढी हुने स्थानहरु फलफूल पसल, तरकारी बजार जाने क्रममा भने मास्कको प्रयोग गर्नु उचित रहेको चिकित्सकको सुझाव छ । सामान्य काम गर्दा र आफु स्वस्थ छु भन्ने लागेमा मास्क लगाउन नपर्ने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ५ : २८ बजे