९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटे



काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस र बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

बालुवाटारमा बिहीबार बिहान भएको भेटमा देउवाले कोरोना रोकथामका लागि विशेष रणनीति निर्माण गर्न ओलीलार्ई सुझावसमेत दिएका छन् ।

कोरोना जोखिम कायमै रहँदा एक सय २० दिन लामो लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्नुपर्ने सुझाव देउवाको छ ।

लकडाउन भए पनि संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४३ जनाको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछि जोखिम थप बढ्ने देउवाले बताए ।

कोरोनाको परीक्षण पीसीआर विधिबाट मात्रै गर्न पनि देउवाले सुझाव दिए । क्वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा देउवाले आपत्ति प्रकट गरे ।

कोरोनाबाट सिर्जित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज माग गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि देउवाले ओलीको ध्यानाकर्षण गराए ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिव्रता दिन पनि देउवाले सुझाव दिएका छन् ।

बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौँको मृत्यु, कयौँ बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्ने देउवाले औँल्याएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  २ : २३ बजे