९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त



काठमाडौं ।
पत्नी हत्याको अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रन्जन कोइराला आज (बिहीबार) जेलमुक्त भएका छन्।

पत्नी गीताको हत्या गरेको पुष्टि भए पनि सर्वोच्च अदालतले कोइरालाको सजाय घटाइदिएपछि उनी बिहीबार जेलमुक्त भएका हुन् ।

२०६८ माघ ८ गते पक्राउ परेपछि थुनामा रहँदै आएका उनको बिहीबार आठ वर्ष ६ महीना कैद पूरा भएको छ।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले अदालतको पत्र अनुसार कोइरालालाई जेलमुक्त गर्न प्रहरीलाई पत्र पठाइसकेको जानकारी दिए।

डिल्लीबजार कारागार सुरक्षा कार्यालयले कोइराला भर्खरै जेल मुक्त भएको जनाएको छ।

कोइरालाले २०६८ पुस २७ गते पत्नी गीता ढकालको बुढानिलकण्ठमा हत्या गरी शव मकवानपुरको जंगलमा लगेर जलाएका थिए।

काठमाडौं जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनले काइरालालाई सर्वश्वसहित जन्मकदैको सजाय तोकेका थिए।

त्यसविरुद्ध सर्वोच्च अदालत गएका कोइरालालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय घटाएर साढे ८ वर्ष झार्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  २ : १९ बजे