मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति खेमराज पौडेलको भेन्टिलेटरमा उपचार भैरहेको छ । गत साउन ४ गते आइतबार घरबाट कार्यालय तर्फ आउँनेक्रममा गोरुसिंगे–सन्धिखर्क सडकखण्ड अन्तगर्त गोरुसिंगे र बसन्तपुरको बीचमा भएको सडक दुर्घटनाबाट पौडेल घाइते हुनुभएको थियो ।
आफैले चलाएको मोटरसाइकल पल्टिदा उहाँसंगै पछाडी सवार नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलबहादुुर रावत पनि घाइते हुनुभएको थियो । रावत उपचार पछि आइतबार नै घर फर्किए पनि पौडेलको अवस्था थप जटिल बन्दै गएको हो ।
पौडेलको हाल बुटवलस्थित चौराह अस्पतालमा उपचार भैरहेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई बताउनुभयो । दुर्घटना देख्दा सामान्य भएपनि पौडेलको टाउकोमा गम्भीर असर परेको चिकित्सकलाई उदृत गर्दै नगर प्रमुख श्रेष्ठले बताउनुभयो । अहिले टाउकाको अप्रेशन भएको तर अझै (यो समाचार तयार पार्दासम्म) होस खुल्न नसकेको उहाँले बताउनुभयो ।
दुर्घटना पश्चात पौडेललाई तत्काल उपचारका लागि बुटवल लगिएको थियो । उपचारका लागि लैजादासम्म पौडेल बोलेको भएपनि बुटवल पुग्दा ‘बमिट’ गरेर बेहोस भएको जनाइएको छ । तत्काल उहाँको उपचारमा चौराहका चिकित्सक खटिएका थिए ।
टाउकाको अप्रेसन सम्वेदनशिल हुनेभएकाले पौडेलको स्वास्थ्य लाभको कामना आफुहरुले गरिरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । पौडेललाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएपनि चिकित्सकको सल्लाह अनुसार बुटवलमै उपचार गरेको उहाँले बताउनुभयो ।
‘पौडेलको ज्यान बचाउनका लागि हामी जुनसुकै अस्पताल लैजान तयार थियौं । हिजोमात्र थप उपचारका लागि काठमाडौं लैजाने पहल पनि गरेका हौं । तर, वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तसंग बुज्दा बुटवल भएको अप्रेशन र काठमाडौं हुने एउटै हो भन्नुभयो । हामीले सबै रिपोर्ट उहाँलाई पठाएका थियौं । अब बुटवलमै उपचार गरिरहेका छौं, नगर प्रमुख श्रेष्ठ चिन्तत मुद्रामा प्रस्तुत हुदै भन्नुभयो, नसोचेको दुर्घटना भयो, हामी चिन्तित छौं, भगवानसंग प्रार्थना गरिरहेका छौं ।’
दुर्घटनामा मोटरसाइकललाई कुनै क्षति भएको छैन् । बाटो अगाडी रहेको ‘ढेडुवा’ ले झुक्काएर घटना घटेको बताइएको छ । नगर प्रमुख श्रेष्ठले पौडेलले मोटरसाइकल किनै होसियार पूर्वक चलाउने गरेको बताउनुभयो । ‘सुस्त गतिमा पौडेलले मोटरसाइकल चालाउनुहुन्थ्यो । कुनैदिन पनि मोटरसाइकलको यात्रा उहाँको हतार हुँदैनथ्यो । त्यस दिन पनि मोटरसाइकल निकै सुस्त गतिमा थियो रे ! तर, एक्कासी नसोचेको घटना भयो, उहाँले भन्नुभयो ।’
पौडेल सवार मोटरसाइकलको पछाडी बस्नुभएका लिल बहादुर रावतको भनाई उदृत गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले मायादेवीलाई बताए अनुसार मोटरसाइकल एक्कासी गुडिररहेको बेला बाटोमा रोकिन पुग्दा दुर्घटना भएको हो । दुर्घटना पश्चात पौडेलको टाउकोमा चोट थियो भने रावतको हातमा चोट थियो । ‘पौडेल दुर्घटना भएपछि राम्रै बोल्नुभएको थियो, यति ठूलो घटना होला भन्ने हामीले सोचेका थिएनौं, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, टाउकोमा चोट लागेछ, त्यसले गम्भीर चिन्तित बनाएको छ ।’
प्रतिक्रिया