काठमाडौं ।
आज बिहान निधन भएका कम्युनिस्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षीय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार भइरहेको थियो ।
पूर्वसांसदसमेत रहेका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।
अन्तिम श्रद्धाञ्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुनलगायत नेताहरु पशुपति पुगेका थिए ।
बर्मन बुढा नेपाली कम्युनिस्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित छन् ।
प्रतिक्रिया