९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। साउन १३ गतेसम्म बस्ने गरी बैठक स्थगित भएको हो । मंगलबार केही समय बसेर १३ गतेसम्मका लागि स्थगित भएको बैठकले मनसुन सुरु भएयता जनजीवन नराम्ररी प्रभावित भएको र राजमार्ग हरुसमेत अवरुद्ध भएको तर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

मनसुन सुरु भएयता प्राकृतिक विपतका कारण २ सय ३३ जनाको मृत्यु भएको, ९८९ जना बेपत्ता र ९९ जना जना घाइते भएको अवस्थामा उद्धार र राहतको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण भएको नारायणकाजी श्रेष्ठले बताए । घाइतेहरुको निःशुल्क र भरपर्दो उपचारको व्यवस्था मिलाउन, घरबारविहीन भएकालाई अस्थायी आवासको प्रवन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न पनि स्थायी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । बाढी र पहिरोका कारण क्षति पुगेका सडक र पुलहरूको पुनर्निर्माण गर्न विशेष प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता श्रेष्ठले बताए।

विहान ११ बजे बस्ने भनिएको आजको बैठक १ बजेपछि मात्रै सुरु भएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए। प्रवक्ता श्रेष्ठले कामको चापका कारण प्रधानमन्त्री बैठकमा सहभागि नभएको बताए।

आजको बैठकमा अरु कुनै विषयमा पनि छलफल नभएको उनले बताए। पार्टी भित्रको विवाद समाधानका लागि छलफल जारी रहेको उनको भनाइ थियो । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने आवाज पार्टीभित्रै बाट आइरहेको सन्दर्भमा उनले बैठकमा उठेका विषयमाथि छलफल गरी निष्कर्षमा पुगिने बताए।

शनिबार सचिवालय बैठक पश्चात पार्टी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न गएको प्रसङ्गमा उनले भने, ‘झुक्याएर कोहीले लैजाँदैन । कोही जाँदैन । उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन । राष्ट्रपतिलाई भेट्न उहाँ (प्रचण्ड) शितल निवास जानुभएको हो।’

प्रकाशित मिति : ६ श्रावण २०७७ मंगलबार ००:००  ५ : ३० बजे