एजेन्सी ।
टोटनह्यामले आउँदो सिजन युरोपा लिग फुटबल खेल्ने सम्भावना बनाएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीमाथि ३–० को जित निकालेर जोसे मोरिन्होको टिम टोटह्यामले शीर्ष ६ मा पर्ने सम्भावना कायम राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि ह्यारी केनले दुई गोल गरे । एक गोल भने उपहारमा पायो । लेस्टर सिटीका जस्टिनले छैटौँ मिनेटमा आत्मघाती गोल गरेर टोटनह्यामलाई अग्रता दिलाए ।
त्यसपछि केनले पहिलो हाफमै दुई गोल गरे । उनले ३७ र ४० औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा थप गोल भएन र टोटनह्याम ३–० ले विजयी भयो ।
जितपछि छैटौँ स्थानमा उक्लिएको टोटनह्यामको ३७ खेलबाट ५८ अंक भएको छ । सातौँ स्थानमा झरेको वुल्भ्सको ५६ अंक छ । पराजित लेस्टर सिटीले च्याम्पियन्स लिगमा स्थान बनाउन अति संघर्ष गर्नु पर्ने भएको छ । चौथो स्थानमा रहेको लेस्टरको ६२ अंक छ ।
लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा रेलिगेशनको जोखिममा रहेको बोर्नमाउथ साउथह्याम्पटनसँग २–० ले पराजित भएको छ ।
घरेलु मैदानमा भोगेको हारले बोर्नमाउथ रेलिगेशनमा पर्ने सम्भावना बलियो देखिएको हो । उ ३१ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया