बुटवल ।
पहिरो हटाएर संचालनमा ल्याइएको तीन घण्टा नबित्दै बुटवल तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
शुक्रबार रातिदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड आईतवार साँझ सवा पाँच बजेदेखि खुलेको थियो । दुई दिनको प्रयास पछि खुलेको सडकमा फेरि तानसेन नगरपालिका वडा नम्बर ८ गौंडेपुल डुम्रेमा ठुलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो ।
निरन्तर पानी परेपछि ढुङ्गा हटाउन नसकिएको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार झरेको पहिरोका कारण सडकमा रोकेर राखिएको लु २ ख ११७१ नम्वरको मालवाहक ट्रक पुरिएको थियो।
असारको अन्तिम सातादेखि लगातार पानी पर्न थालेपछि बुटवल तानसेन सडकखण्डमा दिनहुं पहिरो झर्ने गरेको छ। एकहप्ताको अवधिमा यो सडकखण्ड पहिरोका कारण ६ दिन अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पाल्पा र रुपन्देहीको सिमाक्षेत्र सिद्धबाबादेखि दोभानसम्म चट्टान सहितको पहिरोका कारण वर्षैभरी जोखिमयुक्त सिद्धार्थ राजमार्ग दोभानदेखि तानसेनसम्म भने वर्षायाममा पहिरोको जोखिममा हुने गर्छ । (रासस)
प्रतिक्रिया