दाङ ।
प्यूठानको स्वर्गद्वारीमा ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ ।
मृत्यु भएका सात जना रोल्पाका हुन् ।
दु्र्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढा मगर र त्रिवेणी गाउँपालिकाका निवासी २५ वर्षीय कमल कुँवर रहेको जानकारी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले सेतोपाटीलाई दिएका छन् । कुवँर ट्याक्टर चालक हुन् ।
सूचना अधिकारी पौडेलले गोर्बधन बुढा मगरको उमेर खुल्न नसकेको बताए । त्यस्तै सो ट्याक्टरमा सवार रोल्पाकै विशाल थापाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।ट्रयाक्टरमा ८ जना सवार रहेको पौडेलले बताए।
प्रहरीका अनुसार प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर झन्डै ५०० मिटर तल खसेको थियो ।
उनीहरू सबै भिंगृ– स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरु हुन्। दुर्घटना राति नै भएको भएपनि प्रहरी भने आइतबार विहान मात्रै घटनास्थल पुगेको सर्वसाधारणले बताएका छन् ।
‘समयमै उद्धार हुन सकेको भए यति धेरै मानिहरु मर्ने थिएनन् होला,’ उनले भने ‘घटना राति नै भयो, तर प्रहरी घटनास्थल विहान मात्रै पुग्यो ।’
प्रतिक्रिया