९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

परराष्ट्रमन्त्री ज्ञवाली गृह जिल्ला पुगेर पिसिआर मेसिन दिए



गुल्मी ।
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शनिबार कोरोना परिक्षण गर्ने पिसिआर मेसिन रेसुंगा नगरपालिकालाई हस्तान्तरण गरेका छन् । ज्ञवाली आफै हेलिकप्टर मार्फत मेसिन लिएर जिल्ला आएका थिए ।

उनले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले पिसिआर मेसिन सहयोग गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले मन्त्री ज्ञवालीको पहलमा पिसिआर मेसिन प्रदान गरेको एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्टले जानकारी दिए । केहि समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब संचालन गर्न प्रयत्न गरिरहेका छन् ।

मेसिन प्रदान गर्दै ज्ञवालीले कोरोना संक्रमणले सामाजिक जीवनमा अत्यन्तै ठूलो क्षति पुगेकाले अझै ढुक्क बन्ने स्थिति नभएको बताए । उनले स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिड बिरुद्धको लडाइँमा राम्रो सफलता मिलेको बताए ।

साथै सबैभन्दा खराब स्थिति अझै बाँकी भएकाले त्यसको तयारीमा समेत तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिए ।

उनले विज्ञबाट अझै पनि संक्रमणको धेरै खाले संकेतहरु आएकाले सरकारले देशमा विभिन्न स्थानमा ल्याव सञ्चालन गरिरहेको बताउँदै अहिले आएको मेसिनको उपयोगिता पनि त्यत्तिकै रहेको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  ८ : ३४ बजे