एजेन्सी ।
कोरोना भाइरसको महामारी थप खराब बन्दै गएको छ । दैनिक संक्रमित हुनेको संख्या लगातार बढ्दो क्रममा छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबार एकै दिन अहिलेसम्मकै धेरै झण्डै दुई लाख ६० हजार मानिसमा संक्रमण पुष्टि भएको छ ।
डब्लुएचओका अनुसार शनिबार विश्वभर दुई लाख ५९ हजार ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार (जुलाई १७) मा विश्वभर दुई लाख ३७ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो ।
एकै दिन दुई लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण भएको यो पहिलो पटक रहेको डब्लुएचओले जनाएको छ । सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा थपिएका छन् ।
अमेरिकामा शनिबार अहिलेसम्मकै धेरै ७१ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा ४५ हजार ४०३, भारतमा ३४ हजार ८८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३७३ जनामा शनिबार संक्रमण पुष्टि भएको डब्लुएचओले उल्लेख गरेको छ ।
विश्वभर मे १० यता शनिबार सबैभन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट ज्यान गएको छ । शनिबार एकै दिन सात हजार ३६० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
अहिलेसम्म विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ लाख नाखेको छ । अहिलेसम्म विश्वभर ६ लाख ६ सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै संक्रमित हुनेको कुल संख्या एक करोड ४२ लाख २३ हजार भन्दा धेरै रहेको छ ।
सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ३७ लाख सात हजार भन्दा धेरै संक्रमित भएकोमा एक लाख ४० हजार भन्दा धेरैको ज्यान गएको छ ।
प्रतिक्रिया