मायादेवी अनलाइन, चार नम्बर ।
गरिब र विपन्नहरुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा निशुल्क उपचारको ब्यवस्था हुने भएको छ । कपिलवस्तुको बाणगंगामा शनिबार आयोजना भएको एक कार्यक्रममा अस्पतालका अध्यक्ष सूर्य भट्टराईले सो कुराको जानकारी दिनुभएको हो ।
लायन्स क्लव अफ कपिलवस्तुको तेश्रो पद हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले पैसा नभएर विपन्नहरु उपचारबाट बंचित हुने अवस्था अब नआउने बताउनु भयो । पहिलेको जस्तो अवस्थामा अहिले अस्पताल नरहेको बताउँदै भट्टराईले अति गरिब, विपन्न र दिनदुखिको मुहारमा खुसी ल्याउन आफूले मुख्य रुपमा जोड दिने बताउनु भयो ।
आफ्नो तीन बर्षे कार्यकालमा यी सबै कुराको ब्यस्था गर्ने उहाँले भन्नुभयो, ‘अब पहिचान भएका विपन्न विरामीलाई निशुल्क उपचार त हुन्छ नै आउने जाने भाडा र खानेबस्ने खर्च पनि अस्पतालले ब्यहोर्छ । यो खबर गाउँगाउँका विपन्नसम्म पुर्याउनू ।’ यसमा लायन्स क्लवले सहजीकरण गर्न सक्ने उहाँले बताउनु भयो ।
उहाँले महिला दिदीबहिनीलाई पनि विशेष छुट र सुविधासहित अस्पतालले सेवा दिइरहेको बताउँदै अस्पताललाई विश्वास गर्न सबैलाई अनुरोध गर्नु भएको छ । लायन्स क्लवमा आवद्ध भएकाहरुलाई पनि अस्पतालले केही न केहि छुट दिने ब्यवस्था गरिएको उहाँको भनाई छ ।
उहाँले प्रदेशकै सुविधा सम्पन्न अस्पताल भवन पनि बुटवलमै बनाउन लागिएकाले केही समयपछि अस्पतालको रुप नै फेरिने बताउनु भयो । अहिले अस्पतालको गुणस्तर वृद्धिमा प्रदेश ५ सरकार लागेको हुँदा सरकारी भनेर हेयको भाव नराख्न उहाँले सबैमा अनुरोध गर्नुभयो ।
प्रतिक्रिया