९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

संस्कृत व्याकरणका विद्धान एवं साहित्यकार ‘लाटो साथी’को निधन



काठमाडौं ।
संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए ।


संस्कृत, नेपाली र अवधि भाषामा सशक्त कलम चलाएका डा. आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उहाँले विसं २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गरेको जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेलले जानकारी दिए ।

‘कपिलधाम’ उपन्यासमा बुद्ध जन्मस्थल लुम्बिनी एवं कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका साथै ऋषि कपिलका विषयमा पनि प्रकाश पार्नुभएको भूमिका लेखक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताउनुभयो । सरल भाषामा उनले कपिलवस्तुको महत्व उपन्यासमार्फत पाठकसमक्ष पस्किएका छन् ।

भाषा, साहित्यका साथै धर्म, अध्यात्म, इतिहास, शिक्षालगायत क्षेत्रमा उनको रुचि थियो । घरपरिवारमा संस्कृतमै वार्तालाप गर्नुहुने साहित्यकार आत्रेयले लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा वैदिक हिन्दू विधिअनुसार अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  ४ : १२ बजे