काठमाण्डौ ।
सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिको बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग छलफल गर्न निर्देशन दिनुभएको छ ।
दुवै देशका सहसचिव रहने समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नुहुनेछ । वर्षाको समयमा बाढी पहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि पुनले निर्देशन दिनुभयो । यस्तै बाढी पहिरोको अवस्थाबारे जिल्लाको मन्त्रालय अन्तर्गतका निकायबाट सूचना सङ्कलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि मन्त्री पुनले निर्देशन दिनुभएको छ ।
नियमित कार्यतालिकाअनुसार जेसीआईएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिनुभयो । छलफलमा सचिव श्रेष्ठ, विभागका महानिर्देशक राजभण्डारी, उपमहानिर्देशक प्रदीप थापालगायतले बाढी, पहिरो र डुबानको अवस्थाबारे मन्त्री पुनलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया