काठमाण्डौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारको लागि सचिवालय बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।
यसैबीच शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहान ११ बजे बोलाएर दिउँसो ३ बजेसम्म स्थगित भनिएको बैठक फेरि आइतबारसम्मको लागि स्थगित भएको हो । पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाकाअनुसार बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ ।
पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुने तय भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण स्थायी कमिटी बैठक प्रभावित भएको छ ।
यसबीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुङ्गिएको छैन । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ ।
२ श्रावण २०७७ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया