मायादेवी अनलाइन, तौलिहवा ।
बर्खाबासको अवसर पारेर लुम्बिनी विकासा कोषको अगुवाईमा कपिलवस्तु नगरपालिकास्थित बुद्धस्थल निग्रोधराम कुदानमा बृक्षारोपण गरिएको छ ।
बुद्धमार्गीका लागि बर्खाबास महत्वपूर्ण उत्सव हो । चित्त शुद्ध गर्नका लागि ३ महिनासम्म बर्खाबासमा बस्ने चलन रहेको बुद्धमार्गीहरु बताउँछन् ।
यही अवसरमा निग्रोधराम कुदानमा थाईल्याण्डका एक जना भिक्षु बर्खाबास बसेको लुम्बिनी विकास कोषले जनाएको छ ।
निग्रोधराममा बिभिन्न प्रजातिका २ सय बढी बिरुवाहरु रोपिएका हुन् । जन प्रतिनिधि, कोषका पदाधिकारी, वनकर्मीसहीतको टालीले बिरुवा रोपेका हुन् ।
बृक्षारोपणको शुभारम्भ गर्दैं सांसद बृजेश कुमार गुप्ताले ऐतिहासिक स्थल निग्रोधराममा बृक्षारोपण गर्नु निकै राम्रो कुरा भएको बताए । यो स्थलको सरक्षण, विकासमा अब ढिलाई गर्न नहुने बताए । यसको विकासमा कोषसहित, संघ, प्रदेश र स्थानीय सरकारले ठोस कदम चाल्नु पर्ने बताए ।
सो अवसरमा प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तवले जिल्लामा रहेको ऐतिहासिक र धार्मिक स्थलहरुको विकासमा प्रदेश सरकारले योजनाबद्ध विकास गर्ने बताए । उनले बुहत्तर लुम्बिनी गुरु योजना अनुसार कपिलवस्तुमा रहेका बुद्धस्थलको. समेत बिकास गरिने बताए ।
कार्यक्रमममा प्रजिअ दीर्घ नारायण पौडेलले जिल्लामा रहेको बुद्ध स्थलको बिकासमा गति लिनु पर्ने बताए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ता साउ, कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य, वन डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेल, कांग्रेस नेता सुधाकर पाण्डेय, नेकपा नेता बावुराम खनाल लगायतको सहभागीता रहेको थियो ।
बृक्षारोपणका लागि वन डिभिजनले बिरुवा उपलब्ध गराएको थियो । प्राचीनकालमा भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरे पछि आफ्नो परिवारसंग पहिलो पटक भेट गरेको स्थलका रुपमा मानिएकाले पनि बुद्धमार्गीहरुको गन्तब्य बनेको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए ।
खासगरी यहाँ बर्खाबासको बेला भिक्षुहरु ध्यानमा बस्न आउने गरेको उनले बताए । चिनियाँयात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरे पछि यही ठाउँमा राजा शुद्धोधनलाई दर्शन दिई यशोधरा, प्रजापति र राहुल लगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराईएको पुस्तकहरुमा उल्लेख गरेको पाईन्छ ।
त्यस्तै यहाँ देबदत्त र सिद्धार्थ बीच हाँसको बिषयलाई लिएर बिबाद हुँदा न्याय दिईएको हुँदा त्यत्ती खेरको न्यायलय हुन सक्ने पनि बताईएको छ ।
बुद्धका पिता शुद्धोधनले गौतम बुद्धसहित ३ सय जना भिक्षुहरुलाई ध्यान गर्ने र बस्ने उद्देश्यले यो स्थानमा विहार बनाएका थिए । यहाँ बुद्धकालीन सो विहारका भग्नाअवशेषहरु रहेका छन् ।
यसै स्थानमा गौतम बुद्धका छोरा राहुललाई पनि उनले भिक्षु बनाएका थिए । यो क्षेत्रलाई बुद्ध धर्मग्रन्थ अनुसार निग्रोधारामको नामले समेत चिनिएको छ । यसलाई राजा शुद्धोधनको न्यायालय पनि भन्ने गरिन्छ ।
प्रतिक्रिया