काठमाडौँ ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ।
पार्टीको स्थायी समितिको बैठक रोकेर विवाद समाधानको सूत्र पहिल्याउन लगातार छलफलमा बसेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टा छलफल भएपनि यसअघि झै कुनै उपलब्धिमूलक नभएको स्रोतले जानकारी दियो।
प्रधानमन्त्रीसमेत रहेका ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न दबाब दिइरहेका छन्। तर ओली भने दुवै पद नछाड्ने अडान व्यक्त गरिरहेका छन्।
बुधबारको छलफलबारे जानकारी दिँदै दाहाल निकट स्रोतले भन्यो, ‘आजको छलफलबाट पनि उपलब्धि भएन। दुई अध्यक्षत छलफलमै हुनुहुन्छ।’
६ दिनपछि मंगलबार पनि दाहाल ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। हिजोको भेटमा पार्टीभित्रको विवादको विषयमै प्रवेश नगरी सकिएको थियो। बुधबार विषयमा प्रवेश गरे पनि दुवै नेताले आआफ्नो अडान दोहोर्याएका हुन्।
ओली मंसिर ४ गते दाहाललाई कार्यकारी अध्यक्षका हैसियत दिने गरी भएको निर्णयलाई थप व्याख्या गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् भने दाहाल नेपाल खेमाले पार्टी एकताका लागि २०७५ जेठ २ गते प्रधानमन्त्री पद आधा–आधा बाड्ने सहमति कार्यान्वयन गर्न जोड दिइरहेका छन्।
दुई अध्यक्षबीच सहमति कायम गराउन महासचिव विष्णु पौडेलसहितका तीनै पक्षका दोस्रा तहका नेताहरु दौडधुप गरिरहेका छन्। त्यस्तै नेकपाभित्र आन्तरिक किचलो भइरहँदा चिनियाँ राजदूत होउ यान्छीले दौडधुप पनि गरिरहेकी छिन्।
उनले दैनिकजसो नेकपाका पहिलो र दोस्रो तहका विभिन्न खेमाका नेताहरुसँग भेटवार्ता गर्दै आएकी छिन्। चीनले ओली नेतृत्वको सरकार कुनै पनि हालतमा ढाल्न नहुने दबाब नेताहरुलाई राजदूतमार्फत दिइरहेको स्रोतको दाबी छ।
राजदूत यान्छीको सक्रियातापछि नेकपा नेताहरु पार्टी फुटको जोखिमबाट बचेको बताउन थालेका छन्।
प्रधानमन्त्री ओलीको राजीनामा माग्दै चर्को आलोचना भएपछि असार १८ गतेदेखि स्थगित भएको स्थायी समिति बैठक पछिल्लोपटक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ।
प्रतिक्रिया