१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

रुपन्देहीका निजी विद्यालयले शिक्षकलाई २५ प्रतिशत पारिश्रमिक दिने



बुटवल ।
रुपन्देहीका निजी विद्यालयहरुले शिक्षकहरुलाई लकडाउन अवधिभरको पारिश्रमिक दिने निर्णय गरेका छन् ।

बैशाख महिनादेखि तलब नपाएका शिक्षकहरुलाई पहिलो चरणमा आंशिक रुपमा भएपनि तलब दिने निर्णय गरिएको प्याब्सनका अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

यसअघि पाउँदै आएको मासिक तलबमानको कम्तीमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको पौडेलले बताउनुभयो । चालु शैक्षिक सत्रको वार्षिक परीक्षा शुरु हुनै लाग्दा कोरोना भित्रिएपछि विद्यालयहरुले निर्धारित समय अगाडि नै परीक्षा संचालन गरी विद्यालय बन्द गरेका थिए ।

चैत्र ११ गतेदेखि शुरु भएको लकडाउनसंगै विद्यालय बन्द भएपछि शिक्षक कर्मचारीहरुले तलब पाउन सकेका थिएनन् । विद्यालयमा पढाउँदै आएका शिक्षकहरुको आर्थिक स्थितिलाई ध्यानमा राखी हाललाई राहतस्वरूप २५ प्रतिशतभन्दा कम नहुने गरी तलब उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । बाँकी तलबबारे भने पछि निर्णय गरिने उहाले बताउनुभयो ।

लकडाउनका कारण विद्यार्थी भर्ना गर्न नसकेको र शुल्क समेत उठाउन नपाएका कारण निजी विद्यालयहरु आफै आर्थिक संकटमा भएपनि शिक्षक कर्मचारीको अवस्था नाजुक बनेकाले सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन आग्रह गरिएको प्याब्सनका सचिव लक्ष्मण ज्ञवालीले बताउनुभयो ।

रुपन्देही जिल्लामा प्याब्सन आवद्ध दुई सय ४२ विद्यालयमा करिब सात हजार शिक्षक कर्मचारी कार्यरत छन् । यस्तै प्याब्सन रुपन्देहीले सुरक्षा प्रबन्धसहित नियमित पठन पाठन सुरु गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  ७ : १४ बजे