मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरमा दुग्ध संकलन केन्द्रको स्थापना भएको छ । कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडले दुग्ध संकलन केन्द्रको स्थापना गरेको हो ।
मुख्य गरी वडाको राजमार्ग देखि उत्तरतर्फ रहेका दुग्ध उत्पादक किसानको समस्यालाई मध्यनजर गर्दै संकलन केन्द्रको स्थापना गरिएको सहकारीले जनाएको छ ।
केन्द्रको प्रमुख अतिथि नगर उप प्रमुख चक्रपाणी अर्यालले बुधबार ब्यानर पढेर उद्घाटन गर्नुभयो । उद्घाटनमा बोल्दै अर्यालले वडा नम्बर २ का किसानको प्रसंसा गर्नुभयो ।
पछिल्लो समय पशुपालन लगायत अन्य कृषि गतिविधि गर्न त्यहाँका किसानहरु लाग्दा वडाकै विकास भएको आफूले अनुभूति गरेको बताउँदै अर्यालले अब नगरले त्यसता किसानलाई प्रोत्साहन गर्ने बताउनु् भयो ।
किसानहरुले बिभिन्न समस्याहरु भोग्नु परेको यथार्थ रहेको बताउँदै नियम संगत दर्ता भई संचालनमा आए अब समस्या नहुने उहाँको भनाई छ । उहाँले वडा नम्बर २ लाई पकेट क्षेत्र घोषणा गरी नगरले कृषि गतिविधि संचालन गर्ने बताउनु भयो । सहकारीबाट संचालन भएर कमै मात्र संकलन केन्द्र स्थापना भएको हुँदा यसले विशेष महत्व राख्ने अर्यालको भनाई छ ।
वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले आफ्नो वडा तरकारी र पशुजन्य उत्पादनमा आत्मनिर्भर रहँदै गएकोमा खुसी ब्यक्त गर्दै अब सबै किसानहरु ब्यवसायिकता तर्फ उन्मुख हुनु पर्ने बताउनु भयो । निर्वाहमुखी परम्परागत खेती किसानीले किसान अगाडी बढ्न नसक्ने बताउँदै अब प्रविधि केन्द्रित भएर किसानले काम गर्नु पर्ने बताउनु भयो ।
किसान महासंघका केन्द्रि सदस्य ताराजन घिमिरेले अब किसानले रासायनिक विषादी प्रयोग गर्ने परिपाटी बन्द गरेर प्राङ्गारिक मल प्रयोग बढाउनु पर्ने बताउनु भयो ।
सहकारीका सदस्य पद्म रेग्मीले किसानका समस्या राख्नु भएको थियो । पशुपालन सजिलोजस्ता लागे पनि दुध लगायतले मुल्य नपाउने, महंगो दाना, विचौलियाको विगविगी लगायतका थुप्रै समस्या किसानले झेल्नु परेको भन्दै अब नगरले यसबारे स्पष्ट धारण बनाउनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले किसानलाई अनुदान नभई अब मुल्य दिनु पर्ने बताउनु भयो ।
सहकारीका अध्यक्ष सभापति खिमलाल भट्टराईको अध्यक्षता र सचिव दीपक घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहकारीका सदस्य र स्थानीय किसानको पनि सहभागिता थियो ।
संकलन केन्द्र खुलेपछि नन्दनगर, राजपुर लगायतका किसानलाई धेरै फाइदा भएको छ । राजपुर नन्दनगरका किसानले यस अघि दुध संकलन गर्न वैरिया या चार नम्बर धाउनु पर्ने बाध्यता थियो ।
प्रतिक्रिया