चितवन ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटमा यसपटक बोलबम मेला नहुने भएको छ । कोरोना भाइरसको जोखिम भएकोले यसपटक मेला नहुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।
चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेपछि समिति मेला नगर्ने निर्णयमा पुगेको क्षेत्र विकास समितिका अध्यक्ष पौडेलको भनाइ छ ।
देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्थ्यो । यहाँ करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ ।
क्षेत्र विकास समितिले यसवर्ष मेला नहुने र देवघाटमा स्नानका लागि नआउन सार्वजनिक सूचना र अपिल प्रकाशन गर्ने अध्यक्ष पौडेलले बताए । देवघाटमा साउनको हरेक सोमबार निकै भिड लाग्ने गर्छ ।
देवघाटमा स्वदेश तथा विदेशबाट स्नानका लागि हरेक सोमबार ५० हजार तीर्थयात्री आउने गर्दछन् । यस वर्ष भिडभाड रोक्न देवघाट प्रवेशद्धार आँपटारीमा नै निगरानी बढाइने अध्यक्ष पौडेलले बताए ।
३१ असार २०७७ बुधबार ००:००
0
Shares
प्रतिक्रिया