गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट ३ सय घर परिवार बिस्थापित भएका छन् । जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
अबिरल वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा दुई जनाको मृत्यु भयो भने ५ जना घाइते भए । पहिरोले गाउँपालिकाको–१ मा १ सय ३६ घर, वडा नम्बर–४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर बिस्थापित भएको पन्थीले जानकारी दिए ।
पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ । बाढी पहिरोबाट हुनसक्ने क्षतीलाई मध्य नजर गरेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् ।
जिल्लाभित्र जुनसुकै पालिकामा हुने विपदको सामना गर्न प्रभावित पालिकालाई सबै पालिकाले आर्थिक भौतिक, तथा मानवीय सहयोग गर्ने निर्ण भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
प्रभावित क्षेत्रमा राहत वितरणको लागि सरोकारवाला सबै संघसंस्था कार्यालयहरुले पालिकासँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र सहयोग गरिने भएको छ ।
प्रतिक्रिया