१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध



उदयपुर । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ ।त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए ।

तीन जिल्लाका लागि बुइपाको सवस्टेशनमार्फत विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको जनाइएको छ । विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगाखोलासँगै ठाउँ–ठाउँमा घनाजङ्गल रहेको छ ।
पटक–पटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा दुई कर्मचारीको मृत्यु भइसकेको छ भने एक अङ्गभङ्ग भएका छन् । अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेको छ ।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  ८ : १२ बजे