१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोशीमा पानीको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह



जनकपुरधाम ।
निरन्तर वर्षाका कारण सप्तरीको सीमा क्षेत्रमा रहेको कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । नदीमा बहाव बढ्दै गएपछि फाटक (ढोका) खोल्ने क्रम पनि जारी छ ।
नदीमा पानीको बहाव उच्च रहेको अवस्थामा अहिले ५६ वटा मध्ये ३८ वटा फाटक खोलिएको छ । शनिबार बिहान गरिएको मापन अनुसार अहिले कोशी नदीमा पानीको बहाव २ लाख ७३ हजार ३ सय क्युसेक कटिसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनक स्थानीय प्रशासनले आग्रह गरेको छ । धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसँग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।
कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । कोशी नदीमा आउने बाढीका कारण प्रत्येक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाको दर्जनौँ गाउँ डुबान पर्ने गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  ११ : ३३ बजे