१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मास्क नलगाउनेमाथि कपिलवस्तु प्रहरीको कारबाही, गाडीमा हुँइकिनेदेखि पैदल गर्नेसम्म परे



मायादेवी अनलाइन, चार नम्बर ।
मास्क नलगाई बाहिर निस्कनेमाथि कपिलवस्तु प्रहरीले एकसन थालेको छ । कोरोना महामारीको संक्रमण कम हुन नदिन गृह मन्त्रालयबाटै आदेश भए अनुसार अनिवार्य मास्क लगाउनुपर्ने निर्णय कार्यान्वन गर्न कपिलवस्तु प्रहरी तातेको हो ।

गृहमन्त्रालयको आदेशपछि नै यस विषयमा सक्रिय रहेको प्रहरीले शुक्रबार जिल्लाका बिभिन्न स्थानमा खटिएर मास्क नलगाउनेमाथि कारबाही सुरु गरेको छ । बिभिन्न सवारीमा हुँकिनेदेखि पैदल यात्रा गर्नेसम्म कसैलई पनि प्रहरीले छोडेको छैन । बाणगंगा ४ नम्बर चोकमा मास्क नलगाई हिँड्ने करिब ३ सय बढीलाई स्पष्टिकरण सोधी आवश्यक कक्षापछि छोडिएको छ ।

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले कारबाही स्वरुप मास्क नलगाएकालाई मास्क लगाउन र मास्क नै नभएकाहरुलाई नजिकको पसलबाट अनिबार्य रुपमा मास्क किनाई लगाएपछि मात्र छोडिएको छ ।

चार पाङ्ग्रे साना ठुला सवारी साधन, मोटरसाइकल, अटो रिक्सा, रिक्सा र पैदल यात्रामा रहेका धेरैल यो निर्णय पालना नगरेको प्रहरीले चेकजाँचको क्रममा भेटेको छ । धेरैले मास्क साथमा लिएको तर नलगाएको पाइएको प्रहरीले जनाएको छ ।

अब दैनिक रुपमा यसरी चेक जाँच हुने भएकाले सतर्कता अपनाउन कपिलवस्तुका एसपी नवराज अधिकारीले मायादेवीसंग बताउनु भयो । सुरुमा जनचेतना नभएकालाई सडकमै केही छिन कक्षा दिइएको र धैरे अटेरी गरेको पाइए पक्राऊ नै गरिने बताउनु भयो ।

विश्व स्वास्थय संगठनले पनि हावामा कोरोनाको विषाणु भएको बताइसकेकाले मास्क र सामाजिक दुरी अनिवार्य भएको उहाँको भनाई छ । कपिलवस्तुका बिभिन्न स्थानमा यसको चेकजाँचको लागि बाक्लो संख्यामा प्रहरी खटेको उहाँले मायादेवीसंग बताउनु भयो ।

प्रकाशित मिति : २६ असार २०७७ शुक्रबार ००:००  ४ : ४४ बजे