काठमाण्डौँ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद चुलिँदै गएका बेला दोस्रो पुस्ताका नेताहरूले नेतृत्वलाई तीन सुझाव दिएका छन्।
बिहीबार साँझ कृषि मन्त्रालयको हलमा केही मन्त्री र नेकपा स्थायी समिति सदस्यहरूबीच छलफलपछि उनीहरूले दुई अध्यक्षलाई तीन सुझाव दिने भएका हुन्।
‘आजको छलफलले विभिन्न सामाजिक सञ्जाल र सडकमा भएका प्रदर्शन रोक्न, एकताको नयाँ आधार तयार पार्न र आवश्यक परे स्थायी समिति बैठक अझै सारेर भए पनि निकास दिन सुझाव दिने निर्णय गरेको छ,’ बैठकमा सहभागी एक स्थायी समिति सदस्यले भनेका छन् ।
छलफलमा कृषि मन्त्री घनश्याम भुसाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री योगेश भट्टराई, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए।
‘पार्टी एकतालाई सुदृढ बनाउन हाम्रो पहल जरूरी पर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ छलफलपछि कृषि मन्त्री भुसालले भने। उनीहरूले यसअघि असार १९ गते पनि छलफल गरेका थिए। छलफलको नेतृत्व कृषि मन्त्री भुसालले गरेका थिए।
प्रतिक्रिया